विदेशमा ‘पंचायत’ प्रदर्शन, उठेको रकम समाजसेवामा

फिल्म ‘पंचायत’ साउन १८ गते अगस्ट ३ मा फिल्म ‘पंचायत’  कतारमा प्रदर्शन हुने भएको छ । मकवानपुर मिलन केन्द्र कतारको आयोजनामा हुन लागेको प्रदर्शनबाट उठेको रकम मकवानपुरमा एम्बुलेन्स सेवा सुचारु गर्न सहयोग गरिने निर्माता सुसान्त कुमार श्रेष्ठले बताए । शुक्रबार ग्रान्ड मलसँगै रहेको एसियन टाउन सिनेमा हलमा साँझ ३ बजे फिल्म देखाइने छ ।

त्यस्तै अगस्ट १२ मा अस्ट्रेलियाको सिड्नीमा पनि फिल्म ‘पंचायत’ को प्रदर्शन हुँदैछ । अस्ट्रेलियाको प्रदर्शनबाट उठेको केहि रकम सामाजिक कार्यमा लगाउने फिल्मका प्रस्तुतकर्ता गणेश गिरी जानकारी दिए । अष्ट्रेलियामा ‘पंचायत’प्रदर्शनको जिम्मा विभुषण जोशी र दिनेश पोखरेलले लिएका छन् ।

चेपाङ बालबालिकाहरुको सहयोगार्थ युएईको विभिन्न शहरमा पनि फिल्म ‘पंचायत’ प्रदर्शनमा आउँदैछ । चितवन समाज युएईको आयोजनामा सेप्टेम्बर २०, २१ र २२ मा युएईको अल एन, दुबई र अबुधावीमा बिशेष प्रदर्शन हुँदैछ । शिवम अधिकारी निर्देशित फिल्म ‘पंचायत’ को नेपालसँगै अमेरिका, जापान लागतका ठाउँमा प्रदर्शन भैसकेको छ । नायिका नीता ढुंगानाले यसै फिल्मबाट प्रशंसा र पुरस्कार पनि पाएकी थिइन् ।