बन्ला त बोबी २ ?

पछिल्लो समय नेपाली फिल्महरु खासै चलिरहेको अवस्था थिएन । स्टार कास्टले भ्यालु राख्छ भन्ने मान्यता र बुझाईमा बसिरहेका फिल्मकर्मी र आम दर्शकले खासै गतिलो फिल्मको अनुभव साट्न पाएका थिएनन् । तर यो बुझाईलाई छिचोल्दै फिल्म ‘बोबी’ अपवाद बनेर आयो । आम दर्शक देखि चलचित्रकर्मी र समीक्षकको मन जित्दै फिल्मले सफल सुरुवात मात्र गरेन व्यापारिक हिसाबमा पनि सफलता हात पार्यो । मिलन चाम्स निर्देशित यस फिल्ममा वास्तविक कथा र  वास्तविक पात्रहरु उमेश थापा र कविता गुरुङ को अभिनय रहेको थियो ।

‘स्टार भ्यालु’ लाई समेत छायाँमा पार्दै नयाँ कलाकार अभिनित फिल्मले चौतर्फी प्रसंशा प्राप्त गर्न सफल भयो । फिल्म निर्माण यूनिटले फिल्मले हात पारेको सफलाता र खुसी साट्न काठमाडौँमा बिहिवार एक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा फिल्मले बोकेको वास्तविक कथा र उक्त कथा भित्रका वास्तविक पात्रको अभिनयको खुबै प्रसंशा गरियो ।

सोही कार्यक्रममा बोल्दै फिल्मका निर्देशक तथा निर्माता मिलन चाम्सले बोबी २ बन्न सक्ने संकेत गरे । बोबीमा देखाइएको कथा फिल्मका मुख्य कलाकार उमेश थापा र कविता गुरुङको भोगाइको केहि अंस मात्र भएको र उनीहरुका अन्य भोगाईहरु अझै रोचक र मन छुने खालको रहेको बताए । उनले भने, ‘फिल्म बोबी २ बन्न पनि सक्छ त्यसको बारेमा अहिले नै बोली त नहालौँ तर सम्भावना भने पक्कै छ ।’

फिल्मका स्क्रिप्ट राइटर नरेश भट्टराईले पनि फिल्मको अर्को पार्ट बन्ने सक्ने संकेत गरे । उनले भने, ‘जुन सफलता आज फिल्मले पाएको छ त्यो बाट हामी सबै हौसिएका छौँ । त्यसो दोश्रो अँस बनेमा पक्कै म सहज रुपमा सहकार्य गर्न तत्पर छु साथै उत्साहित पनि ।’ चार वटा स्क्रिप्ट लेखिसकेका भट्टराईको लेखनमा यो डेब्यु फिल्म हो ।

बोबी २ बन्ने सम्भावनाका बारेमा बोल्दै फिल्मका मुख्य कलाकार उमेश थापाले भने ‘वेट एण्ड वाच’ । उनले भने, ‘हाम्रो जस्तो धेरैको कथा छ । फरक यती हो कि हाम्रो कथा सबैले बुझ्नु भयो अरुको बाहिर आउन सकेको छैन । म हाम्रो मात्र भन्दिन हामी जस्ता अरु धेरै को कथा बाहिर आउनु पर्छ । हाम्रो मौलिकता, हाम्रो दु:ख, हाम्रो संघर्सको कथाहरु फिल्ममा समेटिनु पर्छ । हामीले बिदेशीका धेरै फिल्म हेर्यौँ अब हामी हाम्रै कथा, ब्यथा समेटिएका फिल्म हेरौँ । उनले पनि फिल्मको दोश्रो भाग बन्न सक्ने संकेत गरेका थिए ।

अब फिल्मको दोश्रो अंस बन्छ या बन्दैन त्यो त हालको लागी प्रतीक्षाको बिषय बनेको छ । तर, दर्शक भने त्यसको पर्खाइमा पक्कै हुनेछन ।