‘रोजी’ भदौ २२मा रिलिज हुने, ‘रामकहानी’सँग भिड्दै

गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म ‘रोजी’ भदौ २२ गते देखी प्रदर्शनमा आउने भएको छ । प्रदीप खड्का र पर्मिता आरएल राणाको मुख्य भूमिका रहेको फिल्ममा कर्मा शाक्य बरुण आरएल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

उद्धव पौडेलको प्रस्तुतिमा निरक पौडेलको निर्देशन रहेको ‘रोजी’मा आयरा पौडेल र आरोही केसीको संयुक्त निर्माण रहेको छ । फिल्ममा राजु बिक्रम थापाको छायाङ्कन, मित्र डि गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहेको छ ।

रोजीको रिलिज डेट सार्वजनिक भएसँगै भदौ २२ मा ‘रोजी’ र सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’ बिचको भिडन्त पक्का भएको छ । रोजी अगावै आफ्नो फिल्म रिलिज डेट अनाउन्स गरेको रामकहानी यूनिटले यसमा कुनै प्रतिकृया जनाएको छैन । पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म रामकहानीले फिल्मका गीतसँगै ट्रेलर समेत सार्वजनिक गरिसकेको छ भने पछिल्लो समय फिल्मको प्रोमोसनमा ब्यस्त देखिन थालेको छ ।

फिल्म ‘रोजी’को टिजर केहि समय अगाडी लिक भएपनि त्यो अफिसियल नभएको खबर बाहिर आएको थियो । फिल्मको गीत तथा ट्रेलर छिट्टै सार्वजनिक गरिने रोजी निर्माण यूनिटले बताएको छ । अब भदौ २२मा फिल्महलमा पछिल्लो समयका स्टार नायक प्रदिप खड्का र लेडी स्टार पुजा शर्मा बिचको भिडन्त देखिनेछ । बाजी कसको पोल्टामा जान्छ त्यो भने प्रतीक्षाको बिषय बनेको छ ।