तीजमा माइत जान पाइनन् नीता (भिडियो)

सबै दिदी बहिनीहरु रमाउँदै तीजमा माइती जाँदै गर्दा नायिका नीता ढुंगाना भने माइती जान पाइनन् । कारण उनका श्रीमान विदेशमा छन् । घरको चोलो चौकोले उनलाई फुर्सद नै मिलेन । तर माइती गाउँको झल्कोले उनलाई छोडेको भने छैन । आफु माइती आउने बाटो नहेर्नु है भन्दै बाबुलाई अनुरोध गरेकी नीता माइती जना नपाएता पनि ‘बैमानी मायाले मार्यो दैया’ भन्दै नाच्ने भने भ्याएकी छिन् । प्रसंग चर्चित लोक दोहोरी गायिका बिष्णु माझीको तीज गीत पुतलीको भट्टी भाग -१४ ‘मार्यो दैया’को हो ।

तीज हिन्दू नारीहरुको महान पर्व रहँदै आएको छ । बिहे गरेर श्रीमानको घर गएपछी तीजमा माइत जानलाई माइतीबाट दाजु भाई लिन आउने अनि चेलीसँगै माइती जाने मौलिक प्रचलन रहँदै आएको छ । माइती गएर आमा दिदी बहिनीसँग दु:ख सुख साटासाट गर्दै नाचेर,गाएर, ब्रत बसेर तीज मनाउने गरिन्छ । तीजलाई सांगीतिक पर्व पनि मानिन्छ । माइती गाउँको चौर/चौतारीमा दिदी बहिनी भेला भएर आफ्ना दु:ख सुखका कथाहरु गीत मार्फत पोख्ने गर्दछन् ।

त्यही प्रचलनले पछिल्लो समय ब्यवासायिक रुप लिएको छ संगीत क्षेत्रमा । गायक गायिकाहरुले तीजका भावनाहरु समेटेर विभिन्न सांगीतिक कोसेलीहरु सार्वजनिक गर्न थालेका छन् । त्यसै भिडमा चर्चित लोक दोहोरी गायिका बिष्णु माझीको पुतलीको भट्टी भाग -१४ ‘मार्यो दैया’ सार्वजनिक भएको हो । श्रीमान विदेशमा हुँदा माइती जान नपाएकी चेलीको कथा ब्यथा समेटिएको उक्त गीतको शब्द संगीत सुन्दर मणी अधिकारीको रहेको छ । गीतको भिडियोमा शम्भु चालिसेको छायाङ्कन, सुजन शाहीको सम्पादन रहेको छ भने निर्देशन शिव बिक ले गरेका छन् । भिडियोमा चर्चित नायिका नीता ढुंगानाको अभिनय रहेको छ ।