कहाँ गयो सेड्रिना र अनुभवको बालापन ?

ट्रेलर र गीतका कारण चर्चामा रहेको ‘नाईं नभन्नू ल ५’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘बालापनको उमेर’ शीर्षकको गीतमा बसन्त सापकोटाको संगीत र समीक्षा अधिकारीको स्वर रहेको छ । आफ्ना हरेक फिल्मबाट कलाकार तथा गायक गायिकालाई अवसर दिँदै आएका निर्देशक विकास आचार्यले यो गीतबाट समीक्षा अधिकारीलाई मौका दिएका छन् ।

छक्का पञ्जा ३ को सुटिङको समयमा स्कुलको कार्यक्रममा समीक्षालाई नाईं नभन्नू ल कै गीत गाइरहेको फिल्मका छायांकार पुरुषोत्तम प्रधान र मुख्य सहायक निर्देशक सुदिप कुँवरले भेटेपछि दुवैले समीक्षालाई फेसबुकमा लाइभ गीत गाउन लगाएका थिए । नयाँ गीत रेकर्डको क्रममा बाल आवाजको खोजी भइरहेको समयमा समीक्षाको आवाज सुनेपछि संगीतकार बसन्त सापकोटा र निर्देशक आचार्यले समीक्षालाई पोखराबाट झिकाइ गीत रेकर्ड गराएका थिए ।

अनुभव र सेड्रिनाले नृत्य गरेको गीतलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । निरुता सिंह, दिलिप रायमाझी, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ, अभिषेक नेपाल आदिको अभिनय रहेको फिल्म भदौ ८ मा प्रदर्शन हुँदैछ । गीतको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् भने सम्पादन अर्जुन जिसीको रहेको छ । फिल्म भदौ ८ गतेबाट अल नेपाल रिलिज हुदैछ ।