‘चि मुसी चि’ थाइल्याण्डमा हाउसफुल

सस्पेन्स थ्रिलर जनरामा निर्मित फिल्म ‘चि मुसी ची’को थाइल्याण्ड प्रदर्शन भब्य रुपमा सम्पन्न भएको छ । बैंकक स्थित ‘मेजर सिनेप्लेक्स’मा भएको फिल्म शोमा सयौं दर्शक उपस्थित भएका थिए । ‘चि मुसी चि’ हेरेका अधिकांश दर्शकले यसको सस्पेन्स पाटो र गीतसंगीतको प्रशंसा गरेका छन् । फिल्मको थाइल्याण्डका विभिन्न शहरमा १२ भन्दा बढी शो हुने बताइएको छ । शनिवार नै थाइल्याण्डको पतैयामा पनि यस फिल्मको अर्को शो भब्य रुपमा सम्पन्न भएको छ । बैंकक र पतैयामा सफल प्रदर्शन पश्चात फेरि सो ठाउँमा उक्त फिल्म प्रदर्शन हुने सम्भावना बढेको आयोजक संस्था थाई नेपाली संघले जानकारी दिएको छ । फिल्मको प्रदर्शनका लागि कार्यकारी निर्माता शिवराज कार्की र अभिनेता सुशान्त कार्की यतिबेला थाइल्याण्डमा छन् ।

निर्माता कार्की थाइल्याण्डबासी नेपालीबाट पाएको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको बताए । उनले भने, ‘फिल्म हेर्नुभएका सबैले राम्रो भन्नुभएको छ । हाम्रो लागि यो ठूलो सफलता हो ।’ यस्तै, अभिनेता सुशान्तले आफ्नो भूमिका रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिए ।

दिनेश श्रेष्ठ निर्देशित यस् फिल्ममा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको छन भने फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् । अनिल पाण्डे र प्रिन्स युवराज कार्की फिल्मका प्रस्तुतकर्ता हुन् । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।