‘द ब्रेकअप’ बाट रोहित अधिकारी फिल्म्सले हात झिक्यो

फिल्म ‘द ब्रेकअप’ बाट रोहित अधिकारी फिल्म्सले हात झिकेको छ । निर्माता रोहित अधिकारीले आफ्नो फेसबुकमा ‘चलचित्र ‘द ब्रेकअप’को निर्माणबाट रोहित अधिकारी फिल्म्स बाहिरीएको जानकारी गराउँदछु । अब चलचित्रको सम्पुर्ण कामहरु साझेदार कम्पनी ह्यपी प्लानेटले गर्नेछ । चलचित्रको सबै पोस्टर साथै अन्य प्रचार सामग्रीहरुबाट मिडियाका साथीहरुलाई पनि मेरो नाम तथा कम्पनी को नाम चलचित्र ‘द ब्रेकअप’मा उल्लेख नगरिदिनु हुन हार्दिक अनुरोध गर्द्छु भन्दै स्टाटस पोस्ट गरेका छन् । उनले फिल्मबाट हात झिक्नुको कारण भने खुलाएका छैनन् ।

मेरो फिल्मसँग कुरागर्दै निर्माता अधिकारीले निर्देशकसँग कुरा नमिलेको र धेरै कुरामा असमझदारी भएका कारण आफुले फिल्मबाट हात झिकेको बताए । ‘फिल्मको छायाङ्कन लगभग समाप्त भइसकेको छ अब ३-४ दिनको सुटिङ सेड्युल होला तर मैले फिल्मबाट हात झिकिसकेको छु’ उनले भने ।

फिल्म रोहित कै नाममा दर्ता रहेकोले अब ह्यपी प्लानेटको नाममा ट्रान्स्फर गर्ने र फिल्म छायाङ्कनका लागि रोहित अधिकारी फिल्म्सले हाल सम्म गरेको लगानी फिर्ता हुने प्रोसेस भइरहेको उनले जानकारी दिए । रोमान्टिक कमेडी प्रेमकथा रहेको फिल्ममा हेमराज बिसीको निर्देशन रहेको छ । फिल्ममा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, नव–कलाकार इच्छा कार्की लगायतका कलाकारको अभिनय रहेको छ ।