मोफसलमा ‘ब्ल्याक टिम’

आकाश श्रेष्ठ र आँचल शर्मा स्टारर फिल्म ’ब्ल्याक’ को कलाकार सहितको निर्माण टिम यतिबेला पुर्बी नेपालमा पुगेको छ । झापाको बिर्तामोडमा पुगेका आकाश र आँचल फिल्मलाई लिएर उत्साहित देखिए ।

फिल्मको बारे बोल्दै निर्देशक प्रदीप श्रेष्ठले भने ‘फिल्मले जिन्दगीका रङहरुको ब्याख्या गरेको छ ।’  बिर्तामोड र दमकक प्रचार सकेर इटहरी पुगेकी निर्मात्री आश्मा पाण्डेले आफु पुर्बकै चेली भएको भन्दै फिल्म निर्माणमा आफ्नो उपस्थितीलाई दरिलो बनाउन र आफुलाई सफल बनाउनको लागी सबै पुर्बेली दर्शकको साथ र सहयोगको अपेक्षा ब्यक्त गरिन ।  केहि समयको अन्तरमा पर्दामा आउँदै गरेका नायक आकाशले युवाहरुको लभ स्टोरीदेखि दैनिक जीवन भोगाइको केहि फरक परिवेश फिल्मले बोल्ने भन्दै पृथक स्वादको प्रेमको आभाष ’ब्ल्याक’ले दिलाउने बताए ।

रिलिज डेट नजिकिँदै गर्दा दर्शकसँग नजिकबाट साक्षात गर्न मोफसल केन्द्रिय प्रचारलाई अघि बढाउने क्रममा ’ब्ल्याक’ टिम यतिबेला मोफसल यात्रामा छ । सोमबार बिर्तामोड र दमक पुगेको टिमले मंगलबार इटहरी र धरान, बुधबार हेटौंडा, बिहिबार चितवन र शुक्रबार बुटवलहुँदै पोखरा पुगेर स्थानिय सञ्चारकर्मी तथा दर्शकसँगको साक्षात्कारपछि आफ्नो यात्रा टुङ्ग्याउने छ । मौनता श्रेष्ठको कथामा बनेको फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् । फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, प्रिया रिजाल, धिरेन शाक्य लगायत लिड रोलमा छन् ।