‘सेम्पेथी’ कसले खोजेको पूजाजी ?

फिल्म ‘रामकहानी’ निर्माता तथा नायिका पूजा शर्माले चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलप्रति आक्रोस पोख्दै स्टाटस पोस्ट गरेकी छिन् । भदौ २२ मा प्रदर्शनमा आउन लागेको आफ्नो फिल्मसँग निरक पौडेलको निर्देशन रहेको फिल्म जुध्ने भएपछि पूजाले पौडेललाई आक्रोस पोखेकी हुन् ।

शर्माले अध्यक्ष पौडेलले आफ्नो फिल्म ‘राम कहानी’सँग ‘रोजी’ जुधाउने प्लान गरेको र सोही प्लान अनुसार रोजी ल्याएको आरोप लगाएकी छिन् । उनले आफ्नो स्टाटसमा लेखेकी छिन् ‘निकिताजी विकास बोर्डको महिला अध्यक्ष भनेर चलचित्रकर्मीको सहयोग र सेम्पेथी पनि लिनुहुन्छ तर एउटा यस्तो संस्थाको अध्यक्ष भएर चलचित्रकर्मीलाई साथ र सहयोग गर्दै सबैलाई मिलाएर चलचित्रको विकासमा ध्यान दिनुभन्दा एउटा महिलाले नै निर्माण गरेको चलचित्रसँग जुधाएर कुन चाहीं विकासको लागि लड्दै हुनुहुन्छ ?’

पूजाले फिल्म जुध्न आएकोमा भन्दा पनि विकास बोर्डको अध्यक्ष भएर पनि त्यो पदको गरिमा अनुसार काम नगरेकोमा आपत्ति भएको पनि स्पष्टिकरण दिएकी छिन् । तर पूजाले निकिताको पदसँग असन्तुष्टि जनाएर चोखो हुन खोजे पनि पूजाले निकितालाई स्टाटस लेखेर जे प्रमाणित गर्न खोजेकी छिन् त्यसबाट आफैं भने अछुतो छैनन् ।

उनले निकितालाई महिला भएर सेम्पेथी लिन खोजेको आरोप लगाइरहँदा पूजाले फेसबुकमा स्टयटस लेखेर त्यस्तै सेम्पेथी लिन खोजेको बुझ्न गाह्रो पर्दैन । उनको ‘एउटा महिलाले बनाएको फिल्मसँग जुधाएर’ भन्ने वाक्यले महिलाले निर्माण गरेको फिल्मलाई चैं रेड कार्पेट ओछ्याएर स्वागत गर्नुपर्छ भन्ने आसय ब्यक्त गरेको छ । अनि यो चाहिँँ पूजाले सेम्पेथी खोजेको होइन ?

उनले आफ्नो स्टाटसमा निकितालाई विकास बोर्डको अध्यक्षको हैसियतमा आक्रोस पोखेकी छिन् । साँच्चि भन्ने हो फिल्म जुधाउने मामलामा पूजाले निकितालाई घानमा पार्नु पनि बचपना भन्दा बढी केही होइन । फिल्म कहिले रिलिज गर्ने भन्ने कुरा निर्माता, निर्देशक र वितरकको तजबिजमा भर पर्छ तर पूजाले हचुवामा यो प्रकरणमा निकितालाई मुछेकी छिन् ।

आफूलाई निकै स्मार्ट ठान्ने पूजाले यति कुरा पनि नुबझी स्ट्याटस लेख्न हतार गरेकी छिन् । यदि उनले दाबी गरे झैं निकिताले योजनाबद्ध रुपमा नै रामकहानीसँग रोजी जुधाउन खोजेको प्रमाण छ भने पूजाले त्यो प्रमाण सार्वजनिक गरेर निकितालाई जे भने पनि हुन्छ । तर रे र अरेको भरमा पूजा जस्तो हिरोइनले निकितालाई आरोप लगाउनु स्मार्टनेश भन्दा पनि पूजाको बुद्धिले हावा खाएको प्रमाण हो ।

फिल्म नबनाउँदै मेरो डेट यो हो त्यो कारणले अरु आउन पाउँदैनन् भन्नु पनि पूजाको कमजोरी हो । पूजाले जस्तै अरुले पनि आफूले चाहेको मितिमा फिल्म रिलिज गर्न पाउँछन् । ‘सायद २’सँग ‘म यस्तो गीत गाउँछु’ पनि जुधेकै हो । पूजाले अभिनय गरेको ‘प्रेमगीत’ पनि ‘क्लासिक’ र ‘चलेछ बतास सुस्तरी’सँग जुधेकै हो । पहिलोपल्ट फिल्म जुधे जसरी पूजाले गरेको कोकोहोलोले सेम्पेथी हैन व्यापारको नियम कै धज्जी उडाएको छ ।

रोजीसँग जुध्ने हिम्मत छैन भने मैदान छाडे हुन्छ । फेसुबुकको रोइलोले के फाइदा होला पूजाजी ।

पुजाको स्टाटस यस्तो छ :

विकाश वोर्ड अध्यक्ष , निकीता पौडेल ज्यू , 
विकाश वोर्ड जस्तो सस्थां जुन नेपाली चलचित्रको विकाश र नेपाली चलचित्र कर्मीको हकहित को लागी सर्वश्रेष्ठ सस्थां हो, त्यस्तो सस्थांको अध्यक्ष जस्तो गरिमामय पदमा बस्नु भएको छ, नेपाली चलचित्र क्षेत्रको अध्ययन, योगदान र विकास को ठूलो ठूलो भाषण र मन्तव्य दिनुहुन्छ ! चलचित्र विकास वोर्ड को महिला अध्यक्ष भनेर चलचित्रकर्मीको सहयोग र सीम्प्याथी पनि लिनुहुन्छ , तर एउटा यस्तो सस्थांको अध्यक्ष भएर चलचित्र कर्मीलाइ साथ र सहयोग गर्दै सबैलाइ मिलाएर चलचित्र को विकासमा ध्यान दिनु भन्दा एउटा महिलाले नै निर्माण गरेको चलचित्र संग जुधाएर कुन चाँही विकासको लागी लड्दै हुनुहुन्छ ? तपाइले मेरो चलचित्र “रामकहानी” संग जुधाउनु पर्छ भनेर गरेको प्लान बारे पनि जानकारी पाइसकेको छु ! यो कस्तो चलचित्र को विकास गर्दै हुनुहुन्छ ?
जबकि तपाइलाइ थाहा छ मइले (६) महिना पहिलै भदौ २२ गतेको दिन रामकहानी को प्रदर्शन गर्दैछु भनेर ! तर पनि यसरी जुध्न आउनु राम्रो हो र?
मेरो चलचित्र संगै तपाइले आफ्नो चलचित्र रिलिज गर्नुमा मलाइ कुनै आपति होइन तर तपाइ जुन सस्थांमा बसेर चलचित्र को विकास को कुरा गर्नु हुन्छ त्यो कुरामा आपति हो , अध्यक्ष ज्यूको सोच प्रति आपती हो !!

यो त चलचित्रको विनाश भएन र ?

जय नेपाली सिनेमा / जय रामकहानी