नारायणी किनारमा ‘मिस्टर भर्जिन’

भाद्र १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म “मिस्टर भर्जिन” मोफसल प्रचार प्रसारको क्रममा बुधबार चितवन आईपुगेको छ । पोखराबाट सुरु गरेको मोफसल यात्रा बुटवल हुदै चितवन पुगेको हो । कलाकार र निर्माण पक्ष सहित चितवन आएको टोलीले चितवनमा बुधबार पत्रकार सम्मेलन गरेको छ ।

फिल्मबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अभिनेता गौरभ पहाडीले “मिस्टर भर्जिन” एउटा यौन मनोबिज्ञानमा आधारित फिल्म भएको बताएका छन् । फिल्मको नामकै कारण कसैले पनि नाक खुम्च्याउन नपर्ने उनले बताए । सधैं फरक जनराको फिल्म गर्दै आएको आफुले यस फिल्ममा पनि फरक भूमिका निर्वाह गरेको गौरभको भनाई रहेको छ । यौन मनोबिज्ञानमा आधारित रहेर पहिलो चोटि नेपालमा सेक्स कमेडी बेसको फिल्म बनेको गौरभले बताए । यस्तै उनले फिल्मको ट्रेलर हेरेर गाली गर्नेहरुको फिल्म हेरेपछी भने मन बदलिने समेत बताए ।

अभिनेत्री मरिस्का पोख्रेलले “मिस्टर भर्जिन” मा आफुले एउटा कल गर्लको भूमिका निर्वाह गरेको बताईन । फिल्ममा कल गर्लको भूमिकालाई न्याय दिन आफुले कल गर्लहरुको जीवन र दैनिकी बारे पनि लामो अध्ययन गरेको उनले जानकारी दिइन् । निर्माण पक्ष सँगको पहिलो छलफलमा नै उहाँहरुले फिल्मको नाम “मिस्टर भर्जिन” न हो, तपाई काम गर्नु हुन्छ कि हुन्न भनेर सोध्नु भयो, पछी थाहा पाए म भन्दा अघी केही कलाकारहरुले नामलाई लिएर फिल्म गर्न अस्विकार गर्नु भएको रहेछ, त्यसैले मलाई सुरुमै फिल्मको नाम सुनाएर मेरो मनसाय बुझ्न खोज्नु भएको रहेछ’ मरिस्काले भनिन् ।

कलाकार कमल मणी नेपालले फिल्मले दिन खोजेको कन्टेन्ट निकै राम्रो भएको कारण आफुले फिल्ममा काम गरेको बताए । म यसै त फरक फरक जनराको फिल्ममा काम गर्न रुचाउने मान्छे त्यही माथि यौन मनोबिज्ञानमा आधारित भएर पहिलो चोटि नेपालमा यस्तो फिल्म बन्न लागेको  काम नगरने त कुरै भएन । साथै उनले फिल्ममा रहेको दोहोरो अर्थ लाग्ने सम्बाद कथाको माग अनुसार नै राखिएको बताए ।

फिल्म निर्माता प्रजापती सिवाकोटीले “मिस्टर भर्जिन” एउटा राम्रो फिल्म बनेकोले हलमा गएर हेर्न सबैलाई आग्रह गरे । यस्तै उनले फिल्म नहेरी कमेन्ट गर्ने भन्दा पनि हेरेर मात्र कमेन्ट गर्न सबैलाई आग्रह गरेका छन् । फिल्मको प्रचारको लागि सार्वजनिक गरिएको गीत र ट्रेलरबाट निकै राम्रो प्रतिकृया पाएकोले दर्शकहरुले फिल्म मनपराउनेमा आफु विश्वस्त रहेको बताए ।

फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल,  मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीले निर्माण गरेका हुन् । वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् ।

फिल्म युनिटले बुधबार बेलुका नारायणी नदि किनारमा भव्य कन्सर्ट समेत आयोजना गरेको थियो । कन्सर्टमा डान्सरहरुले फिल्मको गीतमा नृत्य गरेका थिए भने । कन्सर्टमा ठुलै संख्यामा दर्शकको उपस्थिति रहेको थियो।