भदौ १५ मा आउला त ‘चङ्गा चेट’ ?

दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘चङ्गा चेट’ भदौ १५ मा रिलिज गर्ने घोषणा निर्माण टिमले पहिले नै गरिसकेको थियो । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता राज्य लक्ष्मी शाह, सन्दिप क्षेत्री, सुरक्षा पन्त रविन्द्र झा लगायत कलाकारको अभिनय रहेको छ ।

छायांकन सकेर फिल्मको पहिलो गीत सार्वजनिक कार्यक्रमको आयोजना गरिएको थियो । तर, सबैलाई बोलाएर अन्तिम समयमा प्राबिधिक गडबढी भन्दै गीत सार्वजनिक कार्यक्रम पछाडी सारियो ।

उता फिल्म छायांकन अन्तिम चरणमा रहेका बेला फिल्मका निर्माता माधव वाग्ले नक्कली नोट प्रकरणमा मुछिए । हाल उनी पच्चिस लाख धरौटी बुझाएर रिहा भएका छन् । वाग्ले पक्राउ प्रकरणले पनि फिल्म प्रदर्शन मितिमा अन्यौलता ल्याएको थियो ।

पछिल्लो समय फिल्म निर्माण टिमले भने फिल्मको रिलिज मिति तथा अन्य कुनै पनि सामग्री सार्वजनिक गरेका छैनन् । चङ्गा चेटका निर्देशक खनालले भने विविध कारण बस भदौ १५ मा प्रदर्शनमा ल्याउन नसकिने बताए । फिल्मको नयाँ रिलिज मिति छिट्टै तय गरिने उनले जानकारी दिएका छन् ।