दोश्रो हप्तामा ‘कायरा’, बक्स अफिस रिपोर्ट यस्तो छ

नायक आर्यन सिग्देलको कथा तथा निर्माण रहेको फिल्म ‘कायरा’ प्रदर्शनको दोश्रो हप्तामा प्रवेश गरेको छ । नेपालमा सफल रुपमा प्रदर्शन भइरहेको फिल्मको विदेश प्रदर्शन यूएईबाट सुरु भएको छ । फिल्म प्रदर्शनका लागी यतिबेला नायक आर्यन सिग्देल र नायिका सम्राज्ञी राज्य लक्ष्मी शाह यूएई पुगिसकेका छन् ।

लक्ष्मण रिजाल निर्देशित फिल्ममा संगीत कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको रहेको छ । फिल्ममा सम्राज्ञी र आर्यनसँगै शिशिर राना, हितेश शर्मा, सुरेश न्यौपाने, मरिषा श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको फिल्ममा दिनेश थापा र दिवस पराजुली सह-निर्माता रहेका छन् ।

दोश्रो हप्तामा प्रदर्शन भइरहेको फिल्मले एक हप्तामा कति कमायो भन्ने कौतुहलता सबैमा छ । प्रदर्शनको पहिलो दिन ३५ लाख बढीको कलेक्सन गरेको फिल्मले दोश्रो दिन शनिवार भने ६३ लाख बराबरको कलेक्सन गरेको थियो । फिल्मले आइतबार १५ लाख, सोमबार ११ लाख, मगंलबार १० लाख, बुधबार ९ लाख, बिहिबार ८ लाखको कलेक्सन गरेको थियो । यसरि फिल्मले एक हप्तामा १ करोड ५५ लाख बराबरको कलेक्सन गर्न सफल भएको छ ।
(वितरक सुनिल मानन्धरले दिएको जानकारीको आधारमा)