एलिनासँग बिहे गर्ने मेरो निर्णय – LOVE @ पच्चीस (भाग -२) – अनल गौतम

- मेराेफिल्म

म अफीसमा काम गरीरहेको थिएं फोन आयो एलीनाको तर म अलि जरुरी काममा व्यस्त रहेकोलेले पछि कल गर्छु भनि उसको फोन काटें । तर फेरी पनि बारम्बार कल आईरह्यो उसको अनि बाध्य भई फोन उठाएर हलो मात्र के भनेको थिएं उनले “के हो तिमी किन मेरो फोन काटेको” भनि क्रुद्घ भावमा हकार्न थालीन् मलाई ।

“होइन म अफीसको काममा व्यस्त भएकोले पछि गर्छु भनेर म्यासेज गरेको थिएं त तिमिलाई“ मैले मधुर आवाजमा उसलाई सम्झाउने प्रयत्न गरें । “मलाई थाहा छ तिमि कती व्यस्त हुन्छौ तर अब आईन्दा मेरो फोन नकाट्नु” कडा शब्दमा आदेश आयो उसको ।

“तिमि पनि त व्यस्त हुंदा मेरो कल काट्छौ उठाउंदिनौ मैले केहि भनेको छु र काममा हुंदा त काम नै गर्नु प¥यो नि” म प्रष्टीकरण दिन खोज्दै थिएं । “तिम्रो र मेरो कुरा फरक हो, भयो छोड तर अब आइन्दा मेरो फोन नकाट्नु । घरको सांचो कहां छ मलाई चाहियो अहिल्यै ।” उसलाई मेरो भावनाको कत्ती ध्यान रहेको जस्तो देखीदैनथ्यो ।

“अस्ती तिमिलाई लैजाउ एक्स्ट्रा साचों एउटा भनेको थिएं मानेनौ तिमिले, म संगै छ सांचो किन भनत ?” म सामान्य रुपमा सोध्दै थिएं । “किन सिन छोड १५ मिनेटमा घर आउ म आउंदैछु” उसको आवाजको टर्रोपन घट्ला जस्तो लागेको छैन । “म काममा छु एलीना अहिले आउन सक्दीन” मलाई पनि आवश्यकता भन्दा बढी झुक्नु उचित लागीरहेको थिएन । “त्यसो भए म ताल्चा फुटाउंछु मेरो १० मिनेटको काम छ घरमा तिमिलाई जे ठिक लाग्छ त्यहि गर्नु“ भन्दै फोन काटीन् ।
म बढो असमाञ्जस्यमा परें न त म काम छोडेर अहिल्यै घर जान सक्थें न त एलीनाको कुरालाई हल्का रुपमा लिनु उचित हुन्थ्यो ।

जे पर्ला हेरौंला भन्ठान्दै म आफ्नो काममा लागें । केहि समय पश्चात म एउटा बिजनेश मिटिङमा कर्पोरेट क्षेत्रका बिशिष्टहरुसंग थिएं एलीनाको फोन आयो फेरी । “तिमि आएनौ होइन, ठिक छ म ताल्चा फोरेर जान्छु” मैले हलो भन्न नपाउंदै उनले भनिन् । मैले मात्रै “हस” भनेर फोन काटें ।

निकै धेरै कामहरुमा व्यस्त रहनु परेकोले घर पुग्न ढिला भयो । घर पुग्दा सांच्चै मेरो घरको ढोका मात्रै चुकुल लगाईएको अवस्थामा खुलै थियो । फुटाईएको ताल्चा बरण्डाको कुनाको डस्टबिनमा फालीएको अवस्थामा रहेको थियो । यो अवस्था देख्दा मेरो मन खिन्न भयो । मेरो एक मनले किन एलीना संगको सम्बन्धलाई मैले निरन्तरता दिइरहें भन्ने सोचाई त अर्को मनले एलीनाको पक्कै कुनै जरुरी काम थियो होला जो समयमा मैले साथ दिन सकिन भन्ने भावना पलाइरहेको थियो ।

यतिका समय कतै कसै संग सम्बन्ध नगांसिई शान्त रुपमा बसीरहेको म अहिले एक्कासी बिशाल ढुंगाको प्रहारले तरंगीत हुन पुगेको थिएं । घर भित्र छिरेर हेर्दा घरको अवस्था भद्रगोल थियो यत्र तत्र सामानहरु छरपष्ट भई छरीएको अवस्थामा मानौं भर्खरै मेरो घरको प्रहरीले तलासी लिएको छ । जति कोशीस गर्दा पनि अत्यन्त दुखीत मेरो मनले आंखामा जम्मा भएको आंशु थाम्न सकेन र तुरुक्क चुहियो ।

थचक्क लिभिङ रुमको सोफामा बसी नचाही नचाहि किन यो अवस्था भयो भनि जान्नका लागी एलीनालाई कल गरें मैले तर उसको फोन उठेन । मैले पटक पटक कल गरीरहें तर उसले मेरो फोन उठाईन ।

ठिकैको मध्यम स्तरको पारीवारीक पृष्ठभुमीमा पुर्बि पहाडी क्षेत्रको सुन्दर जिल्ला धनकुटाको मनोरम स्थल हिलेमा जन्मेको मेरो पारीवार सभ्य र शिक्षीत परिवार मानीन्थ्यो तर म बाल्य अवस्थामै हुंदा अल्पायुमै मेरो पिताको देहावसान भयो, मैले राम्ररी मेरो बुवाको अनुहार पनि बुझ्न पाइन । त्यसले बुवाको खासै सम्झना मेरो मन मस्तिष्कमा छाउंदैन ।

म, मेरो दाजु र मेरी दीदी गरी हामी ३ जनालाई बढो मुस्कीलले स्याहार्नु भयो मेरी आमाले । आर्थिक रुपमा खासै ठुलो अभाव नभएतापनि घरको मुली बुवाको अल्पायुमै भएको देहावसानले आमा बिक्षीप्त बन्नु भएको थियो । जेठो दाजु त्यस मुनीको मेरी दिदि र म हामी सबैको २-३ बर्षको उमेर अन्तर थियो । बुवाको देहावसान हुंदा केहि हुर्किसकेको हुनाले मेरो दाजु नै मेरी आमाको साहारा हुनुहुन्थ्यो ।

म अफीसबाट आएकै हालतमा आफ्नो थकीत शरीरलाई सोफामा नै पल्टाएर मेरो बिगत सम्झीरहेको थिएं, आंशुका थोपा निरन्तर झर्दै थिए मेरा आंखाबाट । मैले मेरो बुवाको स्थानमा मेरो दाजुलाई नै पाउथें । दाजुले उत्तिनै मायां गर्नुहुन्थ्यो मलाई । मेरी आमाले बढो कष्टका साथ हामीलाई हुर्काउनु भयो पढाउनु भयो । हाम्रो ठिकैको जग्गा जमीनले खान लाउन समस्या थिएन र सामान्य किसीमको व्यापार पनि थियो बिभिन्न सामानहरुको थोक बिक्रेताको रुपमा जसलाई बुवाको देहावसान पश्चात आमाले दाजुको साहारामा सम्हाल्दै हुनुहुन्थ्यो ।

दाजुले व्यापार पनि सम्हाल्नु पर्ने भएकोले प्रमाणपत्र तह बल्ल अध्ययन गरी त्यस पश्चात पढाईलाई निरन्तरता दिन सक्नु भने भएन । केहि बर्ष पश्चात पहिले मेरी दीदीको बिहे हिलेमा नै भयो अनि त्यसको केहि बर्षमा मेरो दाजुको पनि । दाजुको बिहे पश्चात बल्ल आमाले केहि बिश्राम लिनु भयो घरको जिम्मेवारीबाट अनि आराम पाउनु भयो घर व्यवसायको कामबाट ।

म कान्छो छोरो भएकोले जिम्मेवारीबाट अलि परै थिएं त्यसले आफ्नो अध्ययनलाई निरन्तरता दिन सकें । दाजुको बिहे भएको केहि बर्षमा मेरो स्नातकको पढाई पुरा भयो र म उच्च शिक्षा अध्ययनका लागी पहिलो पटक आफ्नो घर छोडेर काठमाण्डौं आएं । आमाले बिदाईको क्रममा आंशु झार्दै भन्नु भएको थियो “अब म बुढी भएं कान्छा तं घर छोडेर हिंड्दैछस्, राम्ररी पढेस, पढाई सकेर मन लगाएर काम गरेस, कोहि गलत व्यक्तीको संगतमा नपरेस, म त डांडा माथीको जुन जुनै बेला अस्ताउन सक्छु अन्तीम अवस्थामा तेरो मुख नहेरी तर मलाई तेरो घरजम भएको हेर्ने ठुलो धोको छ कान्छा कदापी गलत काम नगरेस है ।”

आमाको आर्शिबाद लिएर दाजुको साहारामा काठमाण्डौं आई उच्च शिक्षा राम्ररी अध्ययन गरें र राम्रो नम्बरका साथ पास भएं । मैले स्नातकोत्तर पास गर्ना साथै यो कहिले काम गर्ने प्रतिष्ठीत मिडीया हाउसमा कर्पोरेट एक्जुकेटीभको रुपमा काम गर्न सुरु गरें । काम गर्न थाले देखी मैले अध्ययन गर्दा ताका बसेको कोठा छोडी यो फ्ल्याटमा डेरा सरें ।

मेरो मेहेनत र इमान्दारीताको राम्रो परिणाम आउंदै थियो, काम गर्न सुरु गरेको डेड बर्षमै मेरो प्रोमोशन भएर म कर्पोरेट डिपार्टमेन्टको हेड भएको थिएं । जिवन निकै सहज र आनन्दीत बन्दै गईरहेको थियो एक दिन दाजुले मध्यरातमा फोन गरी आमा असाध्यै अस्वस्थ हुनु भएको र मलाई भेट्न खोज्नु भएको खबर गर्नुभयो ।

मेरो भर्खरै प्रोमोशन भएकोले धेरै जिम्मेवारी भएको महशुस गरीरहेको थिएं र तत्कालै घर जाने समय मिलाउन सकिन् । दाजुले भोलीपल्ट ६÷७ पटक छिटो आउन भन्दैहुनुन्थ्यो तर म पर्सिपल्ट मात्र घर गएं तर अफसोस म घर पुग्दा आमाले यो संसारबाट बिदा लिई सक्नु भएको थियो ।

“म त डांडा माथीको जुन जुनै बेला अस्ताउन सक्छु अन्तीम अवस्थामा तेरो मुख नहेरी” आमाले मलाई मेरो काठमाण्डौंको लागी बिदाइ गर्दा भन्नु भएको कुरा झल्झली सम्झीरहेको थिएं । मनमनै म आमा संग क्षमा माग्दै थिएं आमा, तिमिले कति दुख गरेर मलाई खुसी राख्यौ, मेरा हरेक चाहनाहरु पुरा गर्ने कोशिस ग¥यौ तर मैले तिम्रो मातृवात्सल्यको भार थोरै पनि चुकाउन सकिन्, तिम्रो आंशु थोरै पनि पुछ्न सकिन । हो आमा मैले पढे म बढें तर तिम्रा चाहनाहरु पुरा गर्नु त परै अन्तीम समयमा समेत मैले तिम्रो दर्शन गर्न सकिन जतिबेला तिम्रो आंखा मात्र मलाई हेर्नकालागी प्रतिक्षारत थिए ।

मलाई आमाको कृया बसुन्जेल सम्म हर प्रहर मेरी आमाको आशुंले भत्भती पोलीरह्यो । बाल्य अवस्थामै बुवालाई गुमाएर यो अवस्थामा आमालाई समेत गुमाउनु पर्दा म सांच्चैको एक्लो अनुभव गरें । मलाई मायां गर्ने मेरा दाजु र दिदि छंदै थिए २ भाण्टाङ भुण्टुङ भतीजा भतीजी अनी २ हुर्कने तरखरमा रहेका भान्जाहरु पनि म संग हुरुक्क हुन्थे तर पनि बावु आमा सरह त अन्य को नै पो हुन सक्छ र ।

म आमाको काज कृया सकेर काठमाण्डौं फर्कने क्रममा दाजुले भन्नु भएको थियो । “कान्छा, म पनि तं बिना एक्लो हुन्छु मलाई पर नराख है । म काठमाण्डौ आइरहन पाउंदिन बेला बेला घर आउंदै गरेस अब तलाई मन लागेको सम्पत्ती लिइ अनि छिटै तेरो पनि बिहे गर्नु पर्छ ।” दाजुको कुरा सुनेर म भक्कानीएको थिएं ।

आमा बित्नु भएर म काठमाण्डौं आए पछि मलाई दाजुले अगाडी भन्दा निकै धेरै कल गर्न थाले, मेरो धेरै मायां र चिन्ता लिन्थे । म भने मणी हराएको नाग सरह भएको थिएं उर्जा बिहिन ।

त्यसपश्चात म एक बर्ष सम्म घर गईन, दशैं तिहार जस्ता चाडहरु अधिकांस समय सबै आफ्नो कार्यालय अनि काठमाण्डौंको अन्धकार आफ्नै कोठामा बित्यो मेरो । दाजुले धेरै पटक बोलाउनु भयो चाडबाड नमनाएपनि भेटघाट हुन्छ बच्चाहरु खुसी हुन्छन आइज भनेर तर म आमाको बार्षिकीमा मात्र आउंछु भनें ।

त्यस पछि म केहि लामै छुट्टी लिएर आमाको बार्षिकीमा पुगेको थिएं । आमाको बार्षिकी सकि घर जग्गा सम्पत्ती आदी के के को व्यवस्थापनमा समय लाग्यो । दाजुले नमान्दा नमान्दै पनि जवरजस्ती घर अनि अन्य जग्गा जमीन दाजुको नाममा गर्न लगाएं मेरो लागी माथी बसन्तपुर जाने बाटो तिरको डांडाको केहि जमीन राखें ।

सबै कामहरु सकेर बिहानै भाउजुको हातको मिठो चियाको चुस्की लिएर काठमाण्डौं फर्कने क्रममा एलीनालाई भेटेको थिएं बाटोमा । तर यो छोटो समयावधिमा मैले भेटेको सुन्दर शरीर र अनुहारकी धनि एलीनाको अन्य धेरै सुन्दर र कुरुप भित्री पक्षहरु संग साक्षातकार भईसकेको छ ।

कोठाको ढोका घत्रक्क खुलेर मेरो ध्यान भंग भयो । यसो हेरेको एलीना आएकी रहीछे । उसलाई देखेर म रिसाएर अर्को पट्टी मुण्टो फर्काएर बसें ।“के हो तिमि त रिसाएर बसेका छौ त, आफैं आउंदैनौ अनि आफै रिसाएर बस्ने ?” उ अहिले केहि नरम रुपमा प्रस्तुत हुंदै थिइ ।

“होइन, कपडा पनि चेन्ज नगरी ढल्केको तिमि, लौ तिमि त रोएर पो बसेछौ के ताल हो यो छोरा मान्छे भएर हं ?” म नबोली बसेको देखेर मेरो छेउ आएर मलाई मायां जताउन खोज्दै थिई एलीना अहिले । म फेरी पनि केहि नबोली चुपचाप बसीरहें कुनै प्रतिकृया नजनाई तर मेरो मनमा एलीना संगको सम्बन्धले पारेको नकारात्मक असरको प्रभाव बढीरहेको थियो ।

“सरी के बाबा, नरीसाउन न धेरै । अस्ती म आउंदा मैले मेरो लुगा अनि अरु सामानहरु ल्याएको यहिं त छ नि तर एउटा महत्वपुर्ण सामान अर्जेन्टली आजै कसैलाई दिनुपर्ने थियो के उता फुपुकोमा भेटीन त्यो सामान अनि पो तिमिलाई भनेको त तर तिमीले हल्का रुपमा लियौ अनि मैले सामान नमीलाई अर्को लक नलगाई हिंडेको तर म यहिं वरीपरी नै थिएं तिम्रो कल आएको मैले देखेर पनि घुर्कि लगाएर नउठाएको । तिमिले के खायौ ?” मेरो काखमा बसेर मेरो गाला मुसार्दै फकाउंदै थिइ अहिले ।

“मलाई केहि खान मन छैन न त म अहिले केहि भन्न नै चाहन्न, म एकदम थाकेको छु” घडी हेर्दै “रातीको ११ बजीसकेको छ म सुत्छु” भन्दै उठ्न खोजें । “हुन्छ फ्रेस होउ, जती बजे पनि के भयो र दिनभरी त तीमी बिजी नै हुन्छौ नी तर रात हाम्रै हो क्यार । म केहि खानेकुरा बनाउंछु” भनि एलीनाले ।

“होइन मलाई खान मन छैन तिमि बनाएर खाउ” भन्दै चुरोट च्यापेर बाथरुम छिरें । “नाटक नगरन बाबा मलाई तिम्रो बानी थाहा छैन र, सरी भनीसकें त किन रिसाउंछौ अझैं” भन्दै एलीना किचन छिरन् ।

कसैगरी पनि बुझ्न नसकिने बिषय यो संसारमा सांच्चै नारीको मन नै होला । अब एलीनालाई स्वीकार गर्ने की तिरस्कार गर्ने अफ्टेरो परिस्थीतीको सामना गरीरहेको म निकै बेर बाथरुममै पानी खेलाएर फ्रेस हुने कोशिस गरीरहें । “बाबा आउन छिटो खाना सेलायो” मायांलु स्वरमा एलीनाले बोलाएपछि म निस्कदा उसले छरपष्ट सामानहरु मिलाई वरी मेरो बेडमा पल्टेर मोवाईल खेलाउंदै थिइ ।
“के बनायौ तिमिले ?” म पनि अर्को छेउको बेडमा पल्टेर सोधें ।

“नुडल्स बनाएको बाबा, छिटो बन्ने यहि त हो” मेरो अगाडी एउटा ठुलो प्लेटमा नुडल्सको रासमा दुई वटा कांटा घुसारेर मुस्कुराउंदै प्रस्तुत भई एलीना । म चुपचाप खान थालें, उ कहिले आफुं खादै त कहिले मलाई ख्वाउंदै गर्दै थिइ ।
नुडल्स खाईसकेर फेरी बेडमा पल्टेर व्ल्याङट तान्दै भनें “म थाकेको छु, सुत्छु तिमी पनि सुत अब” ।

“के अरे किन सुत्ने नी अहिल्यै ? बुढा भएर पनि आफ्नो बुढीको वास्तै गर्दैनौ तिमि त मलाई के सारो भको तिमी आजकल” उ घुर्काएको शैलीमा उता फर्किइ । “होइन, कहिले बिहे गर्यौँ हामिले र बुढा बुढी भन्दैछौ एलीना ?” छक्क पर्दै मैले सोधें ।

“लौ, तिमिपनि अचम्मको कुरा गर्छौ, हामीले बिहे गरेको भन्दा कम छ र ? अनि मैले किन बुढा भनेको लौ हेर सुन अनि बुझ । कुरा के भनेनी बाबा मैले तिमिसंग भेटेपछि पहिलाको बुढासंग डिभोर्स गर्न अदालतमा निबेदन दिएकी थिएं आज त्यो निबेदन स्वीकृत भएर हाम्रो डिभोर्स भयो । मलाई केहि कागजपत्र चाहिएको थियो त्यसैले मैले अर्जेन्ट आउ भनेको थिएं तिमिलाई ।” उ मलाई उसको कुरा सुनाउंदै आफ्नो कपडा खोल्न थाली ।

“ए, राम्रो भएछ अब तिमि स्वतन्त्र भयौ” म पनि केहि सामान्य अवस्थामा बोल्न थालें । “अब म तिमिसंगै यहिं बस्छु सधैंभरीको लागी बाबा, अब म बिदेश पनि जान्न कतै पनि जान्न । बिस्तारै मेरो लागी कुनै व्यवसाय सुरु गर्दिनु । हामी छिट्टै बिहे गर्ने अब ।” उ कती सहज रुपले भन्दैथि यति संबेदनसिल कुराहरु । मलाई सुनाउंदा सुनाउंदै सम्पुर्ण लुगा खोलीसकेर कालो रंगले टपक्क टांसीएको सानो भित्री बस्त्रमा कामुक शरीर बेडमा आएर व्ल्याङकेट भित्र घुसारी ।

एलीनाको र मेरो भेट भएको दुई महिना भई सकेको छ । यो समयको दौरानमा उसले मलाई अगाध मायां गरेकी छे, मेरो हरेक कुराको ख्याल गरेकी छे तर कहिले काहिंको उसको अचम्मको व्यवहारले भने मलाई बढो भयभित तुल्याउंछ । सांच्चै भन्दा एलीनासंग डर लाग्छ मलाई तर खै के को डर हो ठम्माउन भने सकेको छैन । म उसलाई मेरो घरमा अनुमती दिने नदिनेमामै अल्झीरहेको मान्छे अचानक मसंगै बिहे गर्छु भनेको सुन्दा त फेरी मेरो मनले केहि कुरा सोच्नै सकेन ।

आफ्नो छेउमा रहेकी जवान, सुन्दर र कामुक युवतीले सारा कुरा समपर्ण गर्दै प्रेमपुर्वक गरीएको आग्रहलाई मैले अनादर गर्नै सकिन “हुन्छ एलीना तर म संग रिसाउन पाउंदिनौ नि कहिल्यै” आफुं छेउ आएकी एलीनाको कपाल मुसार्दै सोधें ।
“तिमि गिदि नगरन त मलाई नत्र किन रिसाउनु म तिमिसंग बाबा । आई लभ यु सो मच । अब हामीले हाम्रो भविष्यको बारेमा सोच्नु पर्छ है” भन्दै लपक्क टांसीइ ।

सृष्टीको उच्चतम रचना, कोमल नारी देहको तापमा पग्लीदै गएं म बिस्तारै ।

अर्को भाग अर्को शनिवार …

२०७५ साउन २६ गते ९:५६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *