‘१९७४ एडी ओर्जिनल डो’ भब्य रूपमा सम्पन्न

यसै साता लुना पार्क सिड्नीमा ‘१९७४ एडी ओर्जिनल डो’ भब्य रूपमा सम्पन्न भएको छ । चर्चित सांगीतिक ब्याण्ड १९७४ एडीले आफ्नो प्रस्तुती दिएको सिड्नी स्थित लुना पार्क हल निकै भब्य र महँगो पनि छ । यो हलमा कार्यक्रम गर्न पाउनुलाई कलाकारहरूले अवसरको रूपमा पनि लिन्छन् ।

‘यस्तो हलमा कार्यक्रमको आयोजना गर्नु भनेको आर्थिक रूपले जोखिम उठाउनु पनि हो । हामीले अष्ट्रेलियामा रहेका नेपालीहरूलाई स्तरिय कार्यक्रम दिने उद्देश्यले कार्यक्रम गरेका थियौं । यो मामिलामा हामी सफल भयौँ,’ आयोजकमध्यका एक ‘हो र होइन होला’ इभेन्टसका रोशन भट्टराईले भने । ‘१९७४ एडी ओर्जिनल डो’ नामक यो कार्यक्रमा सहभागी हुन नेपालबाट फिरोज सेगंदेन र एड्रिन प्रधानको साथमा कार्यक्रम प्रस्तोता सुरजसिंह ठकुरी र डान्सर सुशान्त खत्री पुगेका थिए । कँडेल कन्सल्टेन्सीको मुख्य प्रायोजन रहेको यो कार्यक्रमको आयोजना हो र होइन होला ईभेन्टस, नमस्ते इन्टरटेनमेन्ट र रोटेपिगंले गरेको थियो ।

अष्ट्रेलियामा आयोजना गरिने कार्यक्रममा प्रायशः दुई सय दर्शकहरू जुटाउन पनि गाह्रो पर्ने अवस्थामा यो कार्यक्रममा पच्चीस सय भन्दा बढी दर्शकहरूलाई एउटै थलोमा तान्न आयोजक सफल भएको थियो ।

‘थोरै कार्यक्रम गर्ने तर अविष्मरणीय र तारिफ गर्न लायकको कार्यक्रम गर्ने योजनाका साथ हामी अगाडि बढेका छौँ र हाम्रो यो सोचमा अष्ट्रेलियामा रहनुभएका नेपालीले साथ दिनुभएको छ’, रोशन भट्टराईले भने । यो कार्यक्रमको भिसा पार्टनरको रूपमा भने एस पिपुल एजुकेशन एण्ड भिसा सर्भिसेसले साथ दिएको थियो ।

राजन घिमिरेको सहयोगमा