पुष्प, निराजन र पलसँगै दीपिका एउटै म्युजिक भिडियोमा

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा आएका म्युजिक भिडियोहरु त्यति स्तरीय लाग्दैनन् । एकाध निर्देशकलाई छोडेर अधिकांस निर्देशकहरुको काचोपना देखिन्छ भिडियोमा । तर, पछिल्लो समय निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल निर्देशक तथा पब्लिसिटी डिजाइनर शान थापाले भिडियोमा नयाँ नयाँ प्रयोग गर्न थालेका छन् ।

फरक प्रस्तुतीकरण र कन्सेप्टका कारण उनको निर्देशन निकै रुचाउने गरिएको छ । थापाले हाल सम्म १५० बढी भिडियो निर्देशन गरिसकेका छन् । उनै निर्देशक थापाले पछिल्लो समय सुमन केसीको स्वर रहेको गीत ‘आदत बन्यौ तिमी (आदत २)’ को भिडियो निर्देशन गरेका छन् जसमा उनले चल्तीका तीन नायकहरु नायक पुष्प खड्का, निराजन प्रधान र पल शाहसँगै ऐश्वर्य डेब्यु नायिका दीपिका प्रसाईलाई फिचर गरेका छन् ।

उक्त गीतमा अम्बिका गुरुङको शब्द, शंकर थापा (स्माइल)को संगीत रहेको छ भने एरेन्ज उदय राज पौडेलले गरेका छन् । गीतको भिडियोमा राजिव समरको कोरियोग्राफी, बुद्ध थापाको छायाङ्कन, अर्जुन तिवारीको डीओपी, सुप्रिम पराजुलीको सम्पादन रहेको छ । तीन नायकको साथमा डेब्यु फिल्मबाटै चर्चा कमाएकी नायिका एकै म्युजिक भिडियोमा प्रस्तुत भएको कारण पनि भिडियो प्रतिक्षित बनेको छ ।

‘भिडियो निकै महँगो बजेटमा बनेको छ र पुष्प, निराजन, पलसँगै दीपिकालाई एउटै भिडियोमा प्रस्तुत गराउनु मेरो लागि पनि चुनौती थियो । भर सक स्तरिय भिडियो बनाउने प्रयास गरेको छु’, निर्देशक थापाले भने । कसरी सम्भव भयो त तीन नायकलाई एउटै भिडियोमा प्रस्तुत गर्न ? थापा भन्छन, ‘त्यो पनि अर्को एक चुनौती थियो मेरा लागि । तीनै जनाले यस क्षेत्रमा आ-आफ्नो छुट्टै स्थान बनाईसक्नु भएको छ । सबैलाई मिलाएर सबैको भ्यालु समान रुपमा प्रस्तुत गर्दै आफ्नो कन्सेप्ट अनुसार भिडियो निर्माण गरेको छु । दर्शकले पक्कै रुचाइदिनु हुनेछ ।’

भिडियो छिट्टै सार्वजनिक गरिने निर्देशक उनले बताए ।