प्रियंकाले पहिरिइन स्वयम्वरको औँठी

नायिका प्रियंका कार्की र नायक आयुष्मान देश राज जोशीले स्वयम्बर गरेका छन् । एक पारिवारिक तथा इस्टमित्रको जमघटका बिच उनीहरुले होटल द्वारिकामा स्वयम्बरको औँठी एक अर्कालाई पहिराएका हुन् । असार ३० गते दुई परिवारका सदस्यमात्र बसेर इन्गेजमेन्ट गरेका उनीहरुले आज औपचारिक रुपमा सबैको सामेलमा स्वयम्बर गरेका हुन् । उनीहरु करिब डेढ बर्ष अघिबाट प्रेममा रहेका थिए ।

‘कथा काठमाडौं’ फिल्मकोे सेटबाट औपचारिक रुपमा उनीहरुको प्रेम सुरु भएको भए पनि दुवैको चिनजान पुरानो हो । प्रियंका र आयुष्मानको पहिलो भेट रातो बंगला स्कुलमा भएको थियो । जहाँ प्रियंका कक्षा १० मा र आयुष्मान कक्षा ५ मा अध्ययन गर्थे । सन् २०१७ को मार्च ११ मा राजधानीको कर्मा लाउञ्जमा भएको एक फेसन शोमा आयुष्मान सो स्टपरका रुपमा रहँदा प्रियंका फेसन सोमा दर्शकको रुपमा उपस्थित थिइन् । यो सोपछि प्रियंका र आयुष्मान दरबारमार्गकै डेजाभु क्लबमा पुगेका थिए । जहाँबाट आफूहरूको प्रेम सुरु भएको प्रियंकाले एक अन्तर्वार्तामा बताएकी थिइन् ।