गायक ठकुरीलाई ‘एसियाली युवा प्रोत्साहन अवार्ड’

गायक तथा सर्जक फणिन्द्र ठकुरी एसियाली युवा प्रोत्साहन अवार्डबाट सम्मानित भएका छन् । गीतसंगीत क्षेत्रबाट समाजका विभिन्न समुदायमा बिभिन्न तरिकाबाट योगदान दिएको भन्दै गायक ठकुरीलाई ‘एसियाली युवा प्रोत्साहन अवार्ड २०१८’ बाट सम्मान गरिएको हो ।

काठमाडौंस्थित राष्ट्रिय सभागृह प्रदर्शनीमार्गमा शनिबार ग्लोबल युथ पार्लियामेन्ट नेपालद्धारा आयोजित ‘एसियन युथ एसेम्ब्ली २०१८’ को कार्यक्रममा सभामुख महराले गायक ठकुरीलाई एसियन युथ इन्स्प्रियसन अवार्ड २०१८ बाट सम्मान गरे । कार्यक्रममा सभामुख महराले लोकतन्त्रको रक्षा, युवा नेतृत्वको विकास र वर्तमान विश्वका चुनौतिसँग लड्ने क्षमताको खोजी गर्न आग्रह गर्नुहुँदै विकासका साझा मुद्दाहरुमा सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा एसियाली मुलुकका नेपालस्थित राजदूतहरु, युवा परिषद् नेपालका अध्यक्ष माधव ढुङ्गेललगायतले बोलेका थिए ।

कार्यक्रममा सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै विभिन्न देशका युवाहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा गायक ठकुरी सहित नेपालका विभिन्न क्षेत्रमा योगदान गर्ने सात जना युवाहरुलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी भारत, भुटान, बंगलादेश, श्रीलंका, ताइवान, फिलिपिन्स, कम्बोडिया, भियतनाम, मलेसिया, थाइल्याण्ड र सिंगापुरबाट सामाजिक कार्यक्रममा क्रियाशिल एक–एक जना युवालाई एसियाली युवा प्रोत्साहन अवार्ड प्रदान गरिएको छ ।