‘गोपी’ मा भित्रिए विपिन र वर्षा

फ्लोरमा जानु ५ दिनअघि खगेन्द्र लामिछानेले ‘गोपी’ छाडेपछि निर्माण टिमले उनको स्थानमा अभिनेता विपिन कार्की भित्र्याएको छ । आरोही फिल्मस्ले मंगलबार औपचारिक कार्यक्रम गर्दै विपिनलाई खगेन्द्रको ठाउँमा अनुबन्ध गरेको जानकारी गराएको हो । यसैगरी निर्माण टिमले वर्षा शिवाकोटीको ठाउँमा वर्षा राउतलाई खेलाउने निर्णय लिएको थियो ।

औपचारिक कार्यक्रममा बोल्दै निर्देशक दीपेन्द्र लामाले अन्तिम समयमा आएर अभिनेता लामिछानेसँग वैचारिक मत भिन्नता भएका कारण अलग हुने निर्णय गरेको बताए । ‘ फिल्मलाई यहाँसम्म ल्याइपुर्याउन उहाँको पनि योगदान छ । तर पछिसम्म साथै जान पाएको भए हुन्थ्यो । भएन, यसमा दुःखी छौं । तर अहिले जो जो आउनु भएको छ, उहाँहरुले झन् राम्रो गर्नुहुनेछ भन्ने विश्वास छ,’ लामाले भने ।

खगेन्द्रले छाड्नुअघि निर्माण टिमले वर्षा शिवाकोटीलाई विदा गरेको थियो । वर्षाले सुनाएको कथा स्क्रिृप्टमा नआएको भन्दै आपत्ति जनाएकी थिइन् । लेखक सामीप्यराज तिमल्सेनाले वर्षाले पूरा स्क्रिृप्ट नपढी धारणा बनाएको बताए ।  ‘उहाँलाई सुनाएकोभन्दा स्क्रिृप्ट झन् राम्रो भएको थियो । तर उहाँले पढ्ने धैर्यतासम्म नदेखाई अर्कै फिल्मको प्रमोसनमा हिड्नु भयो । पूरा स्क्रिृप्ट नै नपढी भूमिका चित्त बुझ्दो भएन भनेर कसरी भन्न सकिन्छ,’ तिमल्सेनाले प्रश्न गरे ।

आरोही फिल्मको तर्फबाट बोल्दै निर्माता मणिकर्ण केसीले कलाकार परिवर्तन हुने कुरालाई आफूहरुले सामान्य रुपमा लिएको बताए । उनले भने, ‘धेरै थरि मानिस मिलेर हुने काम हो यो । कहिलेकाहीं यस्तो भइ नै हाल्छ । तर यसलाई हामीले चुनौतीको रुपमा स्वीकारेका छौं । मलाई मेरो नयाँ टिमप्रति पूर्ण भरोसा छ ।’

भदौ ३ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा विपिन र वर्षाका अलावा, सुरक्षा पन्त, अंकित खड्का, भोला सापकोटा, रमेश अधिकारी, सरोज अर्याल आदि कलाकारको अभिनय रहेको छ । फिल्म चैत्र १५ मा सार्वजनिक प्रदर्शनमा आउनेछ । फिल्मको कार्यकारी निर्माता श्रीधर पौडेल हुन् भने फिल्मको छायांकन शैलेन्द्र डि कार्कीले गर्नेछन् । फिल्ममा न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत र विप्लव प्रतीक र बुद्धिसागरको गीत रहेको छ ।