दर्जन बढी कलाकारका साथ फिल्म ‘दालभात तरकारी’

मह सञ्चार र किरण केसीले निर्माण गर्ने फिल्म ‘दालभात तरकारी’को औपचारिक घोषणा गरिएको छ । राजधानीमा बुधबार प्रेसमिट गर्दै फिल्म ‘दालभात तरकारी’ का निर्देशक सुदन केसीले फिल्मको टिम बारे जानकारी गराए ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, स्वस्तिमा खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी र अनुरागमान सिंह कुँवर को अभिनय रहने छ । निरुता र स्वस्तिमा बाहेक फिल्मका सबै कलाकार प्रेसमिटमा उपस्थित थिए ।

फिल्मका निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुंग, अनुराग मानसिंह कुँवर, शिशिर बंदेल, विल्सनविक्रम राई, दिपेन्द्र खनियाँ र सुमित मैनाली रहेका छन् ।

शम्भुजित बाँस्कोटाको संगीत रहने फिल्मका गीतहरुमा हरिवंश आचार्यको शब्द रहनेछन् । फिल्ममा कोरियोग्राफी कविराज गहतराजले गर्दै छन् भने छायाँकन दिर्घ गुरुंगको हुनेछ । कथा, पटकथा तथा संवाद हरिवंशकै रहेको छ ।

फिल्म छायाँकन मंसिरबाट सुरु हुनेछ । ‘शत्रुगते’को सफलतापछि मह सञ्चार र किरण केसीले निर्माण गर्ने फिल्म आगामी बर्षको बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने छ ।