आर्यनले भिन्न भूमिका गरे रे ?

डेब्यू फिल्म के म तिम्रो होइन र चल्दा अभिनेता आर्यन अधिकारीलाई नेपालको टाइगर श्राफ पनि भनियो । ज्यान बनाएर उनले फिल्ममा आउँदा केही गर्छन् कि जस्तो लागेको थियो धेरैलाई ।

आर्यनको टाइगर श्राफ अवतार फिल्म रिलिजपछि सकियो । दोश्रो फिल्म बटरफ्लाई त आएको र गएको पनि थाहा भएन । तेश्रो फिल्म बाँध मायालेको टाइटल गीतमा पनि आर्यन बटरफ्लाइकै जस्तो देखिए । पत्रकारलाई खसखस भयो र प्रश्न सोधे ।

आर्यनलाई भने त्यस्तो लागेन । उनले त हरेक फिल्ममा विविधता पस्किएको तर्क गरिदिए । अघिल्लो फिल्मको गीतमा उनको कपाल लामो थियो रे, यसमा कर्ली । विविधता यस्तै हो ।

नाच्ने स्टाइटल, ड्रेसको स्टाइल उस्तै थियो । आर्यनले भने हरेक फिल्ममा विविधता पस्किएको बताइदिए । अब, आर्यनलाई नेपाली फिल्मको भर्सटायल हिरो कसैले भन्छ र ? भनेको आर्यनले त सुनेका छैनन् होला, मिडियाले कहाँबाट सुन्नु । उनै आर्यन आफूलाई भर्सटायल हिरो भनेर आफ्नै प्रशंसा गर्न थाकेनन् । पहिला भर्सटायल भएपछि भन्ने कि, कपाल कर्ली बनाउँदैमा भएँ भनेर गफ दिने ?