अन्तिम समयमा ‘रोजी’ बन्यो ‘रोज’

फिल्म ’रोजी’ छायांकनको सुरुवाती दिनबाटै विवादमा पर्दै आएको छ । काठमाडौं वडा नम्बर १५ वस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नी मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग फिल्म रोजीको कथा र परिवेश मिलेको भन्दै उजुरी दिएपछि फिल्मको छायांकन केही समय रोकिएको थियो । त्यसै गरी उक्त घटनाकी मुख्य पात्र रोजीको नाम नराख्न पिडित परिवारबाट पटक पटक दबाव आएपछि निर्माण पक्षले नाम परिवर्तन गरेर रोजी बाट ’रोज’ बनाएको बताएको छ ।

बिहिबार चलचित्र विकास बोर्डमा निर्माता निर्देशक निरक पौडेल, निर्माता मणिकर्णकेसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम नानीमैया महर्जनबीच भएको वार्तापछि फिल्मको नाम परिवर्तन गरिएको हो । दुई पक्षीय वार्तामा निर्माण पक्षले फिल्मको नाम ‘रोजी’ नराख्ने, सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता भएको छ । यस्तै महर्जन परिवारले पनि आगामी २२ भदौमा प्रदर्शनमा आउने यो फिल्मलाई कुनै पनि प्रकारको बाधा नपु¥याउने सम्झौता भएको छ ।

फिल्मको नाम परिवर्तन गर्नुको कारणबारे निर्देशक पौडेलले भने, ‘मृतकको संवेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौं । कानुनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको संबेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने हाम्रो मान्यता रहको छ ।’

प्रदिप खड्का स्टारर क्राइम थ्रिलर फिल्म ‘रोजी’ रोजीको टिजर, पोष्टर र गीत केहि समय अघि सार्वजनिक गरिएको थियो ।  गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्मित फिल्म ‘रोजी’मा नायक प्रदिप खड्कासँग नायिका पारमिता आरएल राणा र नायिका मिरुना मगरले स्क्रिन सेयर गर्दैछन् । फिल्ममा प्रदिप, मिरुना र पारमिताका अलावा कर्मा शाक्य, बरुण आरएल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ लगायतको अभिनय रहेको छ । निरक पौडेलले निर्देशन गरेको फिल्म रोजीमा आयरा पौडेल र आरोही केसीको निर्माण रहेको छ । फिल्ममा राजु बिक्रम थापाको छायाङ्कन, मित्र डि गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहेको छ ।