अस्कर कलेज अफ फिल्म स्टडिजको ओपन हाउस इभेन्ट

शनिबार अस्कर कलेज अफ फिल्म स्टडिजले पनि  ओपन हाउस इभेन्ट गरेको छ । त्रिभुवन विश्वबिद्यालयबाट सम्बन्धन लिई ब्याचलर लेभलको कोर्स पढाउँदै आएको कलेजले शनिबार आगन्तुकलाई फिल्म निर्माणको सुरुवातदेखि पछिल्लो समयको प्रविधि भिएफएक्सका बारेमा समेत जानकारी गरायो । ओपन हाउस इभेन्टमा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणले सहभागिता जनाएका थिए ।

कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तले ओपन हाउसमा फिल्म निर्माण प्रक्रियाको सम्पूर्ण जानकारी राखिएको बताए । ‘क्यामरा आविष्कारका लागि प्रेरित गर्ने क्यामरा अब्सक्युरादेखि लिएर पछिल्लो जमानाको लेटेस्ट प्रविधि भिएफएक्सका बारेमा पनि जानकारी राखेका छौं । एउटा फिल्म बनाउन के के चाहिन्छ भन्ने कुरा देखाएका छौं,’ पन्तले भने ।


इभेन्टमा क्यामराको विकासक्रमलाई पनि सहभागीले अवलोकन गर्ने मौका पाएका थिए । कलेजले नेपालमा लामो समय प्रचलनमा रहेको सुपर सिक्स्टिनदेखि रेडहुँदै ड्रोन क्यामरासमेत प्रदर्शनका लागि राखिएको थियो । क्यामरा सँगै  इभेन्टमा सहभागीले लाइभ एक्टिङको दृश्य पनि देख्न पाए । कलेजका विद्यार्थीले आगन्तुकलाई अभिनयको शैली बुझाउन आफैंले अभिनय गरेर देखाएका थिए । ज्याजबारको सेट बनाएर अभिनय गरेका विनोद सिंह थापा र अनु थापाले बारमा नृत्य गरेको आभाषा दिलाएका थिए ।

इभेन्टमा विद्यार्थीले खिचेका २० वटा फोटो पनि प्रदर्शनीमा राखिएको थियो । यसरी राखिएका चित्र भने फिल्मसँग सम्बन्धित नभई जनजीवनसँग सम्बन्धित थिए ।

इभेन्टमा कलेजमा पढ्ने विद्यार्थीका अभिभावकको पनि राम्रो उपस्थिति थियो । सिनेमाटोग्राफी पढ्ने शेषन श्रेष्ठका बुबा प्रकाश श्रेष्ठले शनिबारको कार्यक्रम हेरेपछि छोराले के पढ्न लागेको रैछ छर्लङ्ग भएको बताए । ‘अरु बेला काम विशेषले आएर गइहालिन्थ्यो । आज बल्ल छोराले के के सिक्दो भन्ने थाहा पाइयो । यो हेरिसकेपछि चाहीं फिल्म बनाउन गाह्रै हुँदोरहेछ जस्तो लाग्यो,’ श्रेष्ठले भने । कलेजमा ओेपन हाउस इभेन्ट गर्ने कन्सेप्ट चाहीं कलेजकी प्रशासन प्रमुख आश्मा पोखरेलकोे हो । अघिल्लो साल फिल्म वर्कसपका लागि इजरायल पुगेकी आश्माले त्यहाँको एउटा कलेजमा यस्तै कार्यक्रम भएको देखेपछि आफ्नो कलेजमा पनि ओपन हाउस गर्ने सोचेकी थिइँन ।

‘गत साल नै गर्न खोजेका थियौं । पर्याप्त समय भएन । यो साल सम्भव बनायौं । सय जनाजतिको लक्ष्य थियो, दुई सय पुगिसक्नु भयो । सोचेभन्दा सफल भएको छ,’ पोखरेलले भनिन् । कार्यक्रममा विद्यार्थीले विभिन्न समयमा बनाएका फिल्मको पनि स्क्रिनिङ गरिएको थियो । सहभागीले विभिन्न फेस्टिभलमा समेत सहभागिता जनाएका ‘काफल पाक्यो’, ‘बुट्टे जामा’ ‘क्यार क्यार पंखा’, ‘कल्ली’ आदि फिल्म देखाइएको थियो ।