या त तिमी आउ या काल आओस – LOVE @ पच्चीस (भाग -२) – अनल गौतम

लिबियामा झण्डै ४०० आप्रबासीहरु चडेको डुङ्गा दुर्घटनामा परि ति सबैले ज्यान गुमाए । सिरियाको दमास्कसमा निस्सासिने ग्यासको आक्रमणमा परि झण्डै १५०० ले ज्यान गुमाए जसमा अधिकांस महिला र बालबालिका थिए । करीब ४००० को संख्यामा घाईते भई झण्डै १००० सर्वसाधारणको ज्यान जाने गरी इजिप्टको कायरोमा हमला भयो ।

ति सबै घटनाहरु मार्फत जानाजान वा हातहतीयारको प्रयोग गरी गरीएको नर संहार थियो, आप्रवासीहरु चडेको डुङ्गा पनि बेला बखत पल्टीरहन्छ र यो अबैध रुपमा मानव ओसार पसार गर्ने संगठीत गिरोहले गराएको भनिन्छ तर प्रकृतिको विनाशलिलाले पनि बढो भयानक रुप लिएको थियो यो समयमा । फिलपिन्समा आएको समुन्द्री तुफान (सुनामी) मा परि झण्डै १०००० व्यक्तीले ज्यान गुमाए ।

उफ कस्तो कठीन समय भोग्नु परिरहेको छ आम मानीसहरुले विश्वभर । यो बर्षको उत्तरार्धको केहि महिना भित्रै यस्ता भयावह घटनाहरु भए की सुन्दैमा मात्रै मन आत्तीन्छ आङ जिरिङ्ग हुन्छ हात गोडा लुला हुन्छन् । छोटो समयमानै बिभिन्न दुर्घटना वा हमलामा परि बिसौं हजार भन्दा बढी निर्दोश व्यक्तीहरु जवरजस्ती मृत्युको मुखमा धकलिए । जसरी आजको आधुनिक युगमा नर संहारको श्रृखला चलेको छ लाग्दछ जल जमीन र हावा कतै पनी मानिसहरु सुरक्षीत छैनन् भन्ने प्रमाण मिलीरहेको झैं लाग्दछ ।

दाजु भाई बिच, आफ्ना आफन्तहरुबिच काटामारले आक्रान्त बनाएको धेरै बर्ष देखीको भिषण र भयावह जनयुद्घको बिश्राम, शान्ती सम्झौता पछिको संबिधान सभाको निर्वाचन, राजसंस्थाको बर्हिगमन संगै गणतन्त्रको स्थापना लगायतका घटनाक्रमहरुले हाम्रो देशलाई भने सकारात्मक परिवर्तनको दिशामा डोर्याउन लागेको भान हुन थालेको थियो ।

मधेसका बिभिन्न स्थानहरुमा भएका केहि गम्भीर राजनितीको नाममा आफ्नो दुनो सोझ्याउने व्यक्तीहरुको कारण घटेका केहि त्रासदीपुर्ण घटना अनि भाई भाई बिचको हार्दिकतामा बिष घोल्ने अर्को षडयन्त्रको शिकार भएकाहरु बाहेक अधिकांस नेपालीहरु उल्लासपुर्ण माहौलमा शान्ती र समुन्नत भबिष्यको कल्पना गर्दै र अग्रगामी आर्थिक बिकासको बाटो पहिल्याउने दिशा तर्फ अग्रसर हुने क्रममा थिए ।

परिस्थीती जन्य अवस्थामा भिन्न भिन्न पेशा वा अवस्थाका व्यक्ती बिषेश वा समुहले फरक फरक किसीमको लाभ वा नोक्सानी बेहोरे झैं द्वन्दकालमा चरम फाईदा उठाएका प्रतिगामी वा अवसरबादी व्यक्तीहरुलाई शान्तीपुर्ण माहौल पक्कै स्वीकार्य नभएकै हुनु पर्दछ तर पनि देशको अवस्था बदलिदो नै थियो र संगै अधिकांस नागरीकको आकांक्षा अस्वभावीक रुपमा आवश्कता भन्दा बढी स्वतन्त्रता र अधिकार प्रती केन्द्रीत हुन थालेको भान हुन्थ्यो ।

तर बिल्कुलै फरक लाग्दैथ्यो मेरो जिवन, मलाई विश्व जगतको त कुरै नगरौं आफ्नै देशमा हुंदै गएको कुनै परिवर्तनले किञ्चीत छोएको छैन । मलाई लाग्दैछ ति डुङ्गामा सवार आप्रवासी मध्ये समुद्रको लहरमा तैरीरहेको लाशहरु मध्येको एक म नै हुं । निस्सासिने ग्यांसको आक्रमणमा फत्रक फत्रक परि फोक्सो क्षत बिक्षत भएको व्यक्ती म नै हुं । निर्दोश स्थानीय अनि इतिहास टटोल्न आएको व्यक्ती पर्यटकको रुपमा इजिप्टको कायरोमा बम हमलाको पिडीत अपाङ्ग भई बनेको घाईते म नै हुं । फिलीपिन्सको सुनामीमा तैरिदै अचेत बनी एयरपोर्ट छेउको कुनामा हुत्ताईएको निर्जिब बनेर सड्न खोज्दै गरेका लाशहरुको चांङको बिचमा रहेको एउटा लाश म नै हुं ।

दिनमै अन्धकारले छोप्न थालेको प्रतित हुने बाक्लो कालो बादलले छोपीएको धुम्म परेको काठमाण्डौं उपत्यकाको धुवां धुलो मिश्रीत बादलको राडीले छोपीएको जस्तो आकास । माछालाई समेत चिसो लाग्ने “मिन पचास” भनिने समयावधिको कठ्यांग्रीदो मुटु कमाउने जाडो । छटपटिएर भौंतारींदै हिडेको जस्तो, झुण्ड झुण्डमा एकनासको चराचुरुङ्गीको चहलपहल र क¥याङकुरुङको र्चिचिर्याउंदो ककर्श लाग्ने आवाज । बाटोले थेग्नै नसक्ने गरी ढाकेको गाडीको चाप अनि तिनको लगातारको ट्यां टुं हर्न र धुवां धुलोले छोपेको जमिनको अझ तल्लो सतहको निस्सासिदो वायुमण्डल ।

बांच्नको निमित्त हांस्न र नाच्न जान्नु पर्दछ क्यार तर नाच्न त के हांस्न समेत बिर्सिएर खुम्चीई कक्रीएका ओठ, नाच्न छाडी स्थीर भई छिपछिपे आंशुमा डुबेका आंखा, रगतले बहन अल्छी मानेजस्तो गरी सुस्ताएका नशा अनि कुनै तरंग बिहिन अस्थीपञ्जरमा बेरीएको मांसपिण्डको पोको बेरेर लत्रीएको शरीर बोकेर जबरजस्ती बाची मात्र रहेको हतोत्साहि मन । यो भिडभाड र उपद्रमय काठमाण्डौं उपत्यकाको बिल्कुलै असाहाय निरीह एक्लो प्राणीको रुपमा मेरो उपस्थीतीले कसैको मन हसाउने छैन ।

मलाई अन्यको उपस्थीती पनि त सहज हुंदैन यतिबेला । म सारा पिडाहरुले चिस्सीदै अनि मकलमा आगोको भुंग्रोको ताप झैं काम ज्वरोले तातीदै पर्खिबस्छु जसलाई पहिला आउनु छ आउनु । जो आए पनि दुई मध्ये एकलाई उत्तीकै ब्यग्रताका साथ कुरीरहेछु या त तिमि आउ या काल आओस ।

समाप्त !!!