अस्ट्रेलियामा ‘बाँध मायाले’ प्रिमियर

अष्ट्रेलियाको, सिड्नीमा फिल्म ‘बाँध मायाले’ को प्रिमियर भब्य रुपमा सम्पन्न भएको छ । १८ तारिकमा इभेन्ट सिनेमा वरउड र १९ तारिक इभेन्ट सिनेमा हर्सेभिलमा फिल्मको प्रिमियर शो गरिएको थियो । शोमा नायक आर्यन अधिकारी सहभागी भएका थिए । आर्यनसंगै बसेर दर्सकले फिल्म हेरेका थिए । फिल्मका सह-निर्माता महेन्द्र अधिकारीले शोको व्यवस्था मिलाएका हुन् । बाबा एजुकेसन कन्सल्टेन्सी र द गिल्डफोर्ड एस्प्रेसो क्याफेले प्रदर्शन गरेको फिल्ममा आर के एस अस्ट्रेलिया मार्केटिङ पार्टनर रहेको छ । फिल्म हेरेर निस्केका अधिकांश दर्शकहरुले राम्रो प्रतिक्रिया जनाएका छन् । बाबा एजुकेसन कन्सल्टेन्सीका मार्केटिङ म्यानेजर अमृत शर्माका अनुसार दुईवटा शो हाउसफूल भएको र अझै शो थपिन सक्ने सम्भावना रहेको छ । अगष्ट २८ मा अमेरिकामा पनि शो आयोजना हुनेछ ।

रामहरी धिताल र विभेषिका श्रेष्ठको निर्माण रहेको फिल्म ‘बाँध मायाले’ मा महेन्द्र अधिकारी र केदार धितालको सह-निर्माण रहेको छ । काईट्स ईन्टरटेनमेन्टको प्रस्तुती रहेको बाँध मायालेमा नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठले पहिलो पटक स्क्रिन सेयर गरेका छन् । आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेनको अभिनय छ । किशोर खड्काले बाँध मायाले मार्फत नायकको रुपमा डेव्यु गर्दैछन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, बाबु श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । लभ स्टोरी फिल्मलाई सविर श्रेष्ठले लेखन, निर्माण तथा निर्देशन गरेका हुन ।