‘नार्इँ नभन्नू ल’ को पहिलो रोजाई थिइन् केकी

‘नाईं नभन्नू ल ५’ को मा कलाकारको रुपमा फाइनल हुने केकी अधिकारी अन्तिम कलाकार थिइन् । फ्लोरमा जाने समयसम्म पनि निर्देशक विकास आचार्यले केकीले अहिले गरेको भूमिका गर्ने कलाकार भेटेका थिएनन् । उनको दिमागमा केकी थिइन् तर उनले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ रिलिजको संघारमा थियो । यस्तो समयमा केकीलाई अभिनयका लागि आग्रह गर्न आचार्यको मुख लागेन । तर, टिमकै एक सदस्यले कुरा गरिहेर्नुन भनेपछि आचार्यले केकीलाई आग्रह गरेका थिए । जुन आग्रह केकीले सजिलै स्विकारिन् ।

तर आचार्यले केकीलाई नाईं नभन्नू ल सिरिजमा अभिनय गर्न प्रस्ताव लिएर गएको पहिलो पटक भने थिएन । आचार्यले पहिलो शृंखलामै हिरोइनका लागि केकीलाई आग्रह गरेका थिए । तर केकीले ‘स्वर’ बाट डेब्यु गर्ने निर्णय गरिसकेकी थिइन् । उनले पहिलो ‘नाईं नभन्नू ल’ यसरी मिस गरेकी थिइन् । पछि आचार्यले केकीलाई तेस्रो शृंखलामा पनि अफर गरेका थिए तर केकी सोही समयमा अर्को फिल्ममा व्यस्त भएका कारण यो फिल्म पनि गर्न पाइनन् ।  तर, फेरि जब ५ बाट पनि अफर आयो, उनले यो अवसर गुमाउन चाहिनन् ।

‘विकास अंकलले पहिलो फिल्मदेखि नै मलाई सम्झने गर्नु भएको थियो । विविध कारणले गर्न पाएको थिइँन । तर फेरि ५ मा काम गर्ने अवसर आयो, मैले एक सेकेन्ड मै हुन्छ भनेकी हुँ । मलाई आफ्नै फिल्म तयार गर्ने प्रेसर थियो त्यसका बावजुद पनि यो पाली चैं नछाडने निर्णय गरे,’ केकीले भनिन् ।

केकी नेपालकै सबैभन्दा चर्चित फ्रेन्चाइजमा काम गर्न पाउँदा खुशी लागेको बताउँछिन् । ‘हाम्रो लागि नाईं नभन्नू ल फिल्म नभई एउटा परिवार हो । यस्तो चर्चित परिवारको अंग बन्न पाउँदा निश्चय नै एक्साइटेड थिएँ । त्यो एक्साइटमेन्ट रिलिज नजिक आउँदा झनै बढेको छ ,’ केकीको भनाई छ । फिल्म गर्ने निर्णय गर्न केकीलाई निर्देशक आचार्यको इगोरहित बानीले पनि प्रेरित गरेको उनी बताउँछिन् । उनको अनुभवमा एक चोटि काम गर्न नमानेको कलाकारसँग निर्माता निर्देशकले इगो लिएर दोस्रो पटकदेखि कुरै गर्दैनन् । ‘तर विकास अंकलले कहिलै मेरो इन्कारलाई त्यसरी लिनु भएन । यही कारण हो, पाँचमा हामीले सँगै काम गर्यौं,’ केकीले भनिन् ।

भदौ ८ बाट प्रदर्शनमा आउन लागेको फिल्ममा केकीका अलावा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, स्वस्तिमा खड्का आदि कलाकारको अभिनय रहेको छ । फिल्म देशभरका सयभन्दा बढी पर्दाबाट रिलिज हुँदैछ ।