गोजीमा दामबिना प्रियंका फकाउँदै आयुष्मान

नक्कली नोट काण्डका कारण चर्चामा रहेको फिल्म ‘चंगा चेट’मा पहिलो गीत रिलिज गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै ‘गोजीमा दाम छैन’ बोलको गीत सार्वजनिक गरिएको हो । यही अवसरमा फिल्म कात्तिक १६ मा रिलिज हुने घोषणा गरियो ।

फिल्मको छायांकनका लागि छापिएका नोट बजारमा भेटिए पछि फिल्मका निर्माता माधव वाग्ले प्रहरी हिरासतमा बसेका थिए । दुई महिनाको बसाई पछि केही दिन अघि मात्र उनी धरौटीमा रिहा भएका हुन् । सोमबार सार्वजनिक गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री र परमिता राणाले देखिएका छन् ।

हरिहर तिमल्सिनाको शब्द र राजनराज शिवाकोटीको स्वर तथा संगीत रहेको गीतमा मेलिना राई र ग्रिष्मा शिवाकोटीले पनि स्वरमा साथ दिएका छन् । गीतमा प्रविन सिंहको कोरियोग्राफी छ ।माधव वाग्ले र शर्मिला पाण्डे निर्माता रहेको फिल्ममा प्रदीप भारद्वाजको पटकथा तथा संवाद, राजनराज र अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन छ । फिल्म कात्तिक १६ मा रिलिज हुँदैछ ।