लण्डनमा नेपथ्यको तेस्रो प्रस्तुति

पाँच वर्षअघि विम्बले एरेनामा ऐतिहासिक प्रस्तुती दिएको र तीन वर्षअघि लण्डनकै ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुत भएको नेपथ्यले फेरि तेस्रो पटक बेलायतमा प्रस्तुति दिने भएको छ । तर नेपथ्यको ओ टु एकेडेमीमा भने यो दोश्रो प्रस्तुति हुने छ । यसअघि भर्खरै अमेरिकाको बोस्टन र टेक्ससपछि जापानको टोकियो डोममा नेपथ्यले भब्य प्रस्तुती दिएको थियो । यसै सेप्टेम्बरको १ को प्रस्तुतिका लागी बेलायतमा प्रदर्शनको तयारी ब्याण्डले सुरु गरिसकेको छ । कार्यक्रमका निम्ति ओ टु एकेडेमीले अनलाइन बुकिङको समेत ब्यवस्था गरेको छ ।

‘सन् २०१५ मा दोश्रोपटक नेपथ्यले आफूलाई प्रस्तुत गर्दा सबै हिसाबले ब्याण्डका निम्ति त्यसलाई अनुकूल देखिएकोले फेरि त्यसै स्थललाई रोजेका हौं,’ ब्याण्डलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन् ।

‘हामीले घरबाट टाढा पुगेकाहरुलाई घरको माया बोकेर लगिदिने गरेका छौं,’ नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ भन्छन्, ‘बेलायतको मञ्चमा उभिँदा मलाई जहिले पनि त्यहाँको आत्मीयताले प्रभाव पारिरहेको हुन्छ । हामी नेपथ्यको नयाँ अल्बमको काममा अहिले पनि तल्लीन छौं,’ अमृतले थपे, ‘लण्डनमा नेपथ्यका सर्वकालीक हिट गीतहरुका साथमा केहि नयाँ गीतहरु पनि पक्कै सुनाउने छौं ।’

बेलायतको शोलाई ‘देब्रे इभेन्ट्स्’ का चन्द्र गुरुङले आयोजना गर्न लागेका हुन् । लण्डनमा अमृतलाई उनका साथीहरु ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य,गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।