नेपाल स्रष्टा समाजद्वारा विभिन्न सम्मानहरूको घोषणा

नेपाल स्रष्टा समाजले सुभद्रा–विश्वराज स्रष्टा सम्मान, दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान, प्रसिद्ध कँडेल स्मृति युवा स्रष्टा सम्मान गरी तीनवटा सम्मानहरू गर्ने भएको छ । भाद्र ३० गते सम्पन्न हुन लागेको आफ्नो साधारण सभाको दिन एक बेग्लै कार्यक्रमको आयोजना गरी उक्त सम्मान प्रदान गर्न लागिएको हो ।

सुभद्रा–विश्वराज स्रष्टा सम्मान यस वर्ष शास्त्रीय शैलीमा साहित्य रचना गर्ने तथा पर्याप्त मात्रामा साहित्य साधना भए तापनि अपेक्षित रूपमा ओझेलमा परेका साहित्यकार स्व. नारायणदत्त शास्त्रीलाई मरणोपरान्त प्रदान गरिने छ । दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान लामो समयसम्म साहित्य र सञ्चारका क्षेत्रमा सक्रिय रहनुभएकी श्री सिर्जना शर्मालाई प्रदान गरिने छ । यसैगरी प्रसिद्ध कँडेल स्मृति युवा स्रष्टा सम्मान समकालीन पुस्ताका प्रखर युवा कवि श्री रमेश शुभेच्छुलाई प्रदान गरिने छ ।

प्रत्येक वर्ष प्रदान गरिने यी तीनवटै सम्मानहरू सम्मानपत्रसहित नगद रू. ११,१११ (एघार हजार एक सय एघार) राशिका छन् ।

सुभद्रा–विश्वराज स्रष्टा सम्मान गत वर्षबाट प्रदान गर्न सुरु गरिएको हो भने दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान र प्रसिद्ध कँडेल स्मृति युवा स्रष्टा सम्मान यस वर्षबाट प्रदान गर्न लागिएको हो । सोही समारोहमा केही कृतिहरूको लोकार्पणसमेत गरिने समाजले बताएको छ ।

नेपाल स्रष्टा समाजले स्थापना गरेका योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान गत साउन ७ गते क्रमशः नीलम कार्की निहारिका र ज्ञानमणि नेपाललाई प्रदान गरिएको थियो ।

नेपाल स्रष्टा समाजले आफ्नो स्थापनाको दशौँ वर्ष पुरा गरेको छ । हाल समाजमा देशभित्र र बाहिर गरी एक सय साठी जना विभिन्न प्रकारका सदस्यहरू रहेका छन् । आगामी भाद्र ३० गते हुने साधारण सभामा नयाँ कार्यसमितिको निर्वाचनसमेत हुने समाजका अध्यक्ष पवन आलोकले बताए ।