दुई दिने तामाङ ज्ञान महोत्सव सम्पन्न

तामाङ पहिचान दिवसको उपलक्ष्यमा आयोजना गरिएको तेस्रो दुई दिने तामाङ ज्ञान महोत्सव सम्पन्न भएको छ । महोत्सवमा ३० वटा कार्यपत्रहरु प्रस्तुत भएका थिए । कार्यपत्रहरुलाई चारवटा विधामा विभाजित गरिएको थियो : १. भाषा र भाषा विज्ञान, २. समाज र संस्कृति, ३. राजनीति र विकास र ४. प्रदर्शनकारी कला र लोकवार्ता । प्रा.डा. दानराज रेग्मी, भाषाविद अमृत योन्जन–तामाङ, निष्णु थिङ, रमेशकुमार तामाङ, डा. ओमकारेश्वर श्रेष्ठ, अञ्जु मोक्तान, डा. वालकृष्ण बल लगायत विभिन्न विषयका विज्ञहरुले आफ्नो प्रस्तुती राखेका थिए । यो कार्यक्रम १२ वटा सक्रिय तामाङ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेका थिए ।

यसका साथै १४ जना तामाङ प्रतिभाहरुको व्यक्तिचित्र र २४ वटा पुस्तक विमोचन सम्पन्न भएको थियो । तामाङ पुस्तकपुस्तिका र भेषभूषा प्रर्दशनमा राखिएको थियो । उद्घाटन समारोहमा प्राज्ञ वैरागी काइँला, डा. मुक्तसिंह लामा, आहुति र युग पाठकले आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

यस ज्ञान महोत्सवले तामाङ जातिमा निहित ज्ञान, विज्ञान, संस्कृति, सम्पदा, भाषा, शिक्षा, रैथाने ज्ञानको नवीन क्षितिजको ढोका खोलेको कार्यक्रममा बताइयो । ज्ञान महोत्सव तामाङ समाजका तीनवटा पुस्ताका बीचमा सघन उपस्थिति, अन्तरक्रिया, छलफल, अनुभव पनि आदान–प्रदान गर्न महत्वपूर्ण जमघटको थलो समेत भएको छ । यस महोत्सवले तामाङ ज्ञान, विज्ञानको उत्खनन्, उद्बोधन र अभिवृद्धि गर्न टेवा उर्याउने विस्वास आयोजकले गरेको छ ।