स्टेजमा गायक किन बन्छन् कलाकार ?

कुनै पनि स्टेज कार्यक्रममा कलाकर्मीको माग उनीहरुको विधा अनुसार हुन्छ । हिरो हिरोइनले नाच्छन्, गायक गायिकाले गाउँछन्, हाँस्य कलाकारले हसाँउछन् । तर, नेपालका कोही कोही कलाकारलाई भने स्टेजमा पुगेपछि खै किन हो किन, फरक विधामा हात हाल्न मन लाग्छ ।

अभिनेत्री रेखा थापा स्टेजमा पुगेपछि नाच्दिनन् । बरु, उनलाई गाउने भूत चढ्छ । रेखाले स्टेजमा पुगेर गीत गाउँदा आलोचना पनि धेरै खाएकी छिन् । तर, रेखा नाच्न सहज मान्दिनन् । उनलाई स्वर खुलेपनि नखुलेपनि गाउनै पर्छ ।

अभिनेता राजेश हमाल त झन्, हात हल्लाएर हिड्छन् । आफ्ना फिल्मका उही पुराना संवाद सुनाएर हमाल हिडिहाल्छन् । हमाल नाचेको पनि देखिदैन ।

शनिबार बुटवलमा पहिलो पटक कन्सर्ट गर्न पुगेका अभिनेता अनमोल केसीले पनि त्यस्तै गरे । कृ सिनेमाको यति यति पानी बोलको गीतमा नाचे । तर, २ वटा गीत स्टेजमा गाए । अनमोलको डान्स हेर्न आएका दर्शकले धित हुने गरी डान्स हेर्न पाएनन् । बरु, उनको धेरै नखुलेको स्वरमा गीत सुने ।

कलाकार स्टेजमा डान्समा कमजोर भएर अरु विधा समात्न खोज्छन् कि किन हो ? नत्र, नआउने कुरा किन गर्नु ?