निर्मला पन्तको आत्मा शान्तिका लागी मैन बत्ती प्रज्वलन गर्दै केकी, ऋचा र रिमा

१३ वर्षीया बालिका निर्मला पन्तको हत्याको बिरोध र दोषी माथि कारवाहीको माग गर्दै काठमाडौँमा मैन बत्ति प्रज्वलन गरिएको छ । पन्तको आत्मा शान्तिको कामना गर्दै दोषी माथि छिटो भन्दा छिटो कारवाही हुनु पर्ने माग सहभागीहरुले गरेका थिए । मैन बत्ति प्रज्वलनमा अभिनेत्री त्रय केकी अधिकारी, ऋचा शर्मा, रिमा बिश्वकर्मा समेत सहभागी भएका थिए । हरेक क्षेत्रका व्यक्तिहरु एक जुट भएर दोषी माथि कारवाही गर्न लागी पर्नु पर्ने उनीहरुले बताए ।

हत्याको बिरोध गर्दै केकी अधिकारीले आफ्नो ट्विटर एकाउन्टमा लेखेकी छिन् : अन्न्यायमा परेकाले न्याय पाउन्, यही प्राथमिकताको लागि समाज अनि कानुन बनेका हैनन् ? यो नभुलौँ हामी अरु जनावर भन्दा मात्र यही कारणले फरक छौँ कि हामी अरुको लागि लड्न, बोल्न सक्छौँ । अमानव नबनौँ र बनेकालाई उचित सजाय दिउ, दिलाऔँ । कोही निर्दोषलाई होइन । उनले भनिन् ‘यतिका दिन सम्म पनि सरकारले कानमा तेल हालेर बसेको देख्दा अब मैन बत्ति बालेर मात्र हुँदैन, हामी सबै क्षेत्रका मानिस सबै नागरिक मिलेर दवाब सिर्जना गर्नु पर्छ ।

अभिनेत्री ऋचा शर्माले मैन बत्ति कसैका लागी पनि बाल्नु नपरोस् भन्दै भोलि आफैँलाई पनि त्यो परिस्थिती आइपर्न सक्ने भएकाले निर्मलाको आत्मा शान्ति र दोषी माथि कारवाही गराउन सबै लागी पर्नु पर्ने बताइन् ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्त माथि बलात्कार गरेर हत्या गरिएको थियो । १० साउनमा घरबाट साथीलाई भेट्न हिँडेकी पन्त भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।