‘गीत गजल’बाट हट्ला फ्लपको ट्याग ?

नितिन चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘गीत गजल’मा रुप पोखरेल र आरोही सिंह मुख्य भुमिकामा देखिने भएका छन् । विग बजेटमा निर्माण हुने फिल्मलाई आरोहण क्षेत्रीले निर्माण गर्न लागेका हुन् । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन रहेन छ । फिल्मको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहने छ ।

फिल्म भाद्र अन्तिम साताबाट छायांकनमा जाने छ । यसअघि ‘जोनी जेन्टलम्यान’को निर्देशन गरेका उनले दोश्रो फिल्मको रुपमा गीत गजल निर्देशन गर्न लागेका हुन् ।

नितिन ‘हनी बनी’ गीतको भिडियो निर्देशन पश्चात चर्चामा आएका थिए । त्यसअघि उनले अनेकौँ भिडियो निर्देशन गरे पनि तिनले सोचे अनुरुप चर्चा कमाउन सकेका थिएनन् । उनले कयौँ भिडियो निर्देशन गरिसकेपछी फिल्म ‘जोनी जेन्टलम्यान’ बाट फिल्म निर्देशनमा डेब्यु गरे । फिल्म प्रदर्शन अगाडी फिल्मले राम्रै हाइप पाएको थियो । तर फिल्म प्रदर्शन पश्चात उनको निर्देशनमा कुनै जादु नरहेको पुष्टी भयो । उनको फिल्म नराम्रोसँग पछारियो ।

पल शाह र आँचल शर्मालाई लिएर बनेको उक्त फिल्म व्यापारिक रुपमा असफलता साबित भयो । तत्पश्चात केही समयको ब्रेक लिएर उनी पुन फिल्म ‘गीत गजल’ मार्फत दर्शक माझ आउने तरखरमा छन् । पहिलो फिल्ममा चलेका कलाकार राख्दा पनि असफल साबित भएका नितिनले दोश्रो फिल्ममा दुई नयाँ कलाकारलाई मुख्य भुमिकामा लिएर काम गर्दै छन् ।

उनको ‘गीत गजल’ कस्तो हुने हो त्यो त फिल्म प्रदर्शन पश्चात थाहा होला । पहिलो फिल्मबाट पाएको असफल निर्देशकको ट्याग के ‘गीत गजल’ले हटाउला ? प्रश्न गर्ने ठाउँँ धेरै छन् । तर, पहिलो फिल्ममा पाएको असफलताको झड्का नितिनले नबिर्सेको भए ‘गीत गजल’ राम्रै बन्ला भन्ने आशा जीवितै छ ।