मेरो फिल्मले गलत गर्न प्रेरित गर्दैन – प्रदीप खड्का

फिल्म रोजको ट्रेलर सार्वजनिक भइसकेको छ । फिल्म छायाङ्कन गर्दा ‘रोजी’ नामबाट सुरु गरिएता पनि फिल्म छायाङ्कनको क्रममा विवाद उत्पन्न भएपछी फिल्मको नाम परिवर्तन गरेर रोज बनाइएको हो । रोजी हत्या काण्डबाट फिल्मको कथा प्रेरित भएको भन्दै रोजीका परिवारले आपत्ति जनाएपछी आपसी समझदारीमा फिल्मको नाम परिवर्तन गरिएको थियो । हाल ‘रोज’ यूनिट फिल्म प्रोमोसनमा ब्यस्त छन् ।

काठमाडौँमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा फिल्मका नायक प्रदीप खड्काले आफ्नो फिल्मको देखासिकी गर्ने गरेका एक बालकको बारेमा बोल्दै थिए । उनी भन्दै थिए, ‘मैले फिल्ममा जे गरेको थिएँ त्यो बच्चाले घरमा त्यहि गर्दो रहेछ’ । मैले जस्तो लुगा लगाएँ त्यस्तै चाहिने, जसरि बोलेँ त्यसरी बोल्ने, जे गरेँ त्यहि गर्न खोज्ने त्यस्तो रहेछ । मेरो अभिनय वा भनौँ मेरो क्यारेक्टरबाट मानिसहरु प्रेरित हुनुहुँदो रहेछ ।

‘ उनले यो बोलिरहँदा सोही प्रसंगमा पत्रकारले प्रश्न गरे, ‘रोज फिल्ममा तपाई एक हत्याराको भूमिकामा प्रस्तुत हुनु भएको छ । हत्या गरेर पनि तपाईमा कुनै पछुतो छैन भन्ने फिल्मको ट्रेलरले पनि देखाएको छ । तपाईले भने जस्तै भोलि यहि कुरा कसैले देखासिकी गर्यो भने के गर्ने ? प्रदीपले यस प्रश्नको सहज जवाफ दिए । उनले भने, ‘हो फिल्ममा म हत्याराको भुमिकामा देखिएको छु र म (त्यो क्यारेक्टर)लाई कुनै पछुतो पनि छैन । तर, जब दर्शक फिल्म हेर्न हल सम्म जानुहुन्छ उहाँहरुले थाहा पाउनुहुन्छ की मैले किन र केका लागी हत्या गरेँ ? र, के कारण हत्या गरेकोमा पछुतु छैन भनेर । यो भनिरहँदा फिल्मको सस्पेन्स यहाँनेर नै छ । त्यसको जवाफ फिल्मले दिनेछ । चाहे राम्रोको लागी होस् या नराम्रो हत्या गर्नु जघन्य अपराध हो भन्ने दर्शकले बुझ्नु हुनेछ ।’

उनले फिल्म समाजको ऐना रहेको र समसामयिक घटनाक्रम नै फिल्मको कथावस्तु बन्ने भएकाले ‘रोज’ फिल्म पनि समसामयिक घटनाक्रममा नै आधारित रहेको बताए । ‘म हाम्रो फिल्म फरक छ भन्दिन तर फिल्मले बोकेको मर्म, फिल्मको कथाबस्तु उत्कृष्ट छ । दर्शकको माया मेरो फरक प्रयासमा पनि पक्कै पहिले जस्तै अझै त्यो भन्दा बढी हुनेछ भन्नेमा विस्वस्त छु’, प्रदीपले भने ।