राम्रो फिल्म छ भने निःशुल्क खेल्न तयार छु – प्रदीप खड्का

फिल्म रोज यूनिटले पोखरादेखि नेसनल टुर सुरु गरेको छ । बिहिवार पोखरा स्थित मिडटाउन ग्यालरी हलमा प्रेसमिट र कन्सर्ट आयोजना गर्दै नेसनल टुर सुरु गरिएको हो । फिल्मका मुख्य कलाकार प्रदीप खड्का, मिरुना मगर, परमिता राणासँगै गायक प्रताप दास लगायत टुरमा सहभागि छन् । आफू पहिलोपटक थ्रीलर जनाराको फिल्ममा काम गरेको र दर्शकले आफ्नो यो भुमिकालाई पनि उत्तिकै साथ् र माया दिने बिश्वास नायक खड्काले ब्यक्त गरे ।

आफ्ना अघिल्ला फिल्म पोखरेली सिनेमा घरमा राम्रो चलेकाले रोजलाई पनि स्थानीय दर्शकले माया गर्ने विश्वास समेत नायक खड्काले व्यक्त गरे । राम्रा फिल्मलाई निःशुल्क गर्न तयार भएको जनाउँदै प्रदीपले पैसाको पछि मात्र लाग्ने आरोप अस्वीकार गरे ।

अभिनेत्री परमिता आर एल राणाले आफ्नो जीवनको नजिकको पात्रको भूमिकामा आफूले अभिनय गरेको बताइन् । ‘कतै न कतै मेरो जीवनको नजिक मुख्य पात्र भएकाले मलाई काम गर्दा सजिलो र इन्टिमेट महसुस भयो’ राणाले भनिन् ।

अभिनेत्री मिरुना मगरले प्रदीपसँग काम गर्दा राम्रो केमेस्ट्री निर्माण भएको बताउँदै आफूले उनलाई सरल र यथार्थवादी व्यक्तिको रुपमा लिएको बताइन् । गायक प्रताप दासले फिल्मको चर्चित गीत फूल हैन गाएर सुनाएका थिए ।

टुर पोखरा, बुटवल, नारायणगढ, धरान, इटहरीदेखि बिर्तामोड पुगेर टुंगिनेछ । नीरक पौडेल निर्देशित फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले संयुक्त रुपमा निर्माण गरेका हुन् । ‘रोज’ भदौ २२ गते देखि प्रदर्शनमा आउँदै छ ।