शाहरुखको स्टाइलमा झरनाको सुटिङ

कलाकार हुँदा अभिनेत्री झरना थापाको दिमाग त्यति चल्दैनथ्यो होला, जति अहिले निर्देशक भएपछी चल्छ । झरना थापाले ‘ए मेरो हजुर ३’को निर्देशन गर्ने तयारी गरेकी छिन् । फिल्मको काम सुरु भएसँगै झरनाको मास्टरमाइन्ड पनि चल्न थालेको छ । फिल्ममा अभिनेता अनमोल केसी र उनकी छोरी सुहाना थापाले काम गर्दैछन् । फिल्मको उनले शनिबार पोखरामा हतार हतार मुहुर्त गरेर छायांकन पनि गरिन् ।

अभिनेता अनमोल केसीको नाममा ‘अनमोल इभ’ अहिले देशैभरी चलिरहेको छ । झरनाले पनि यसैको मौका उठाइन् । पोखरामा आयोजित अनमोल इभमा पुगेका हजारौ दर्शकलाई उनले ‘ए मेरो हजुर ३’का लागि क्यामेरामा कैद गरेकी छिन् । झरनाको मास्टर माइन्ड यति मात्र चलेन । उनले, अनमोलको कन्सर्ट हेर्न पुगेकी छोरी र दर्जन फ्यानलाई प्लेकार्ड बोकाएर दृश्य खिचिन् ।

बलिउडका अभिनेता साहरुख खानले आफ्नो जन्मदिनमा उपस्थित भएका हजारौ फ्यानलाई आफ्नो फिल्म फ्यानमा कभर गरेका थिए । झरनाले पनि साहरुखको मास्टर माइन्ड सापटी लिएकी छिन् । हजारौ फ्यानलाई उनले निशुल्क क्यामेरामा कैद गरेकी छिन् । जसलाई छुट्टै छायांकन गर्नु परेको भए उनको लाखौ रकम खर्च हुन्थ्यो ।