केकीमाथि दोस्रो दर्जाकीहरुको सामुहिक हमला, केकी भन्छिन् ‘सोच बदलौं’

सोच परिवर्तन गरौं भन्दै आफूले खेलेको विज्ञापनको भिडियो सामाजिक सन्जालमा राख्दा नायिका केकी अधिकारी उग्र महिलावादी अभियान्ताहरुको खेदाइमा परेकी छन् । चर्चित अभिनेत्री केकीले एक दिनअघिमात्र दयाहाङ राई र उनले अभिनय गरेको एनआइसी एसिया बैंकको विज्ञापन ट्वीट गरेकी थिइन् । तर उनको ट्वीटमा दोस्रो दर्जाकी टाइटलधारी महिलाहरु जाइलागे ।

पछिल्लो समयमा केही महिलावादी र आइएनजिओमा कार्यरत महिलाकर्मीहरुले आफ्नो नामको अगाडि दोस्रो दर्जाकी भन्ने टाइटल थपेर सामाजिक सन्जालमा प्रस्तुत हुने गरेका छन् । उनीहरुले केकी अधिकारीलाई पितृसत्ताको बफादार चौकीदारको संज्ञा समेत दिएका छन् । सेतोपाटी र कान्तिपुरमा हिन्दुत्व र पुरुषको विरुद्ध लेख लेखेर चर्चामा आएकी सावित्री गौतमले केकी अधिकारीलाई पितृसत्ताको बफादार चौकीदारमात्र भनिन्,ट्वीटरमा उनले सार्वजनिक गरेको विज्ञापनले सोच नबदल्ने बरु महिलालाई पुरुषको टाइ लगाउने भूमिकामा सिमित गरेको भन्दै उनको क्यारेक्टरलाई केयरटेकरमा सिमित गरेको टिप्पणी गरेकी छन् ।

सावित्रीलाई साथ दिदै अमृता लम्साल दोस्रो दर्जाकी रिता, दोस्रो दर्जाकी कजिनी,दोस्रो दर्जाकी सरला गौतम लगायतले केकीमाथि प्रहार गरेका छन् । निर्वाचन आयोगकी आयुक्त इला शर्मा र राष्टिय मानवअधिकार आयोगकी सदस्य मोहन अन्सारीले समेत उनीहरुलाई साथ दिएकका छन् । विज्ञापनमा राम्रो सन्देश दिन खोजिएको छ । तर केकीले टाई लगाइदिएको र ल्यापटप झोलामा राखिदिएको दृष्यले महिलालाई दोस्रो दर्जाको देखाउने खोजेको दोस्रो दर्जाावलाको आरोप छ ।

यता केकीले भने सबैको अा-आफ्नो सोच हुने बताइन् । ट्वीटर सामाजिक संजाल हो, यहाँ सबैले आफ्नो कुरा सेयर गर्न पाउँछन । मैले भन्ने यती मात्रै हो ‘सोच बदलऔँ’ । ‘बिज्ञापनमा देखाइएको म (केकी अधिकारी) स्मार्ट गृहिणी हो । उसले सबै काम आफ्नो इच्छा अनुसार गरेकी छे । कसैले उसलाई जबरजस्ती गरेको छैन । जबरजस्ती गर्छ भने त्यो गलत हो । आफ्नो इच्छा अनुसार गृहिणी हुन चाहानु, घरको ख्याल राख्न चाहानु, श्रीमानलाई सहयोग गर्नु, बच्चालाई असल बिचार दिनु आफैँमा नयाँ सोचको उदाहरण हो’ केकीको भनाई छ ।