नेपाली डिजाइनरका ड्रेसमा बिदेशी मोडल

फेशन डिजाइनर तथा फिल्म निर्माता पुनम क्षेत्री गौतमको आयोजनामा फ्रान्समा १२ अन्तर्राष्ट्रिय मोडल र्याम्पमा उत्रिने भएका छन् । बेलायत र अमेरिकापछि पुनम आफ्ना डिजाइनका साथ पेरिसको फेशन शोमा प्रस्तुत हुन लागेकी हुन् ।

सेप्टेम्बर १२ मा एसएम ग्लोबलले आयोजन गर्न लागेको ‘क्याटवक पेरिस रिभोल्युसन’मा पुनमले पश्चिमा पहिरनमा नेपाली पहिरनको फ्युजन गराएर मोडलमार्फत आफ्ना पहिरन प्रदर्शन गर्नेछिन् । ‘ न्यूर्योक र लण्डनमा नेपाली संस्कृति झल्काउने पहिरनलाई मोडलमार्फत प्रदर्शन गरेको थिएँ । पेरिसको फेशन शोमा नेपाली संस्कृतिलाई पश्चिमा पहिरनमा फ्युजन गरेर भिन्न किसिमको डिजाइन प्रस्तुत गर्दैछु,’ पुनमले थपिन्, ‘पश्चिमा पहिरनमा नेपाली संस्कृतिको फ्युजनको राम्रो स्वाद सहभागीले पाउनेछन् ।’

सेप्टेम्बर १२ बाट शुरु हुने फेसन शो दुई दिनसम्म चल्नेछ । शोमा पुनम नेपालको एक्लो प्रतिनिधि हुन् भने दर्जन बढी देशका फेसन डिजाइनरको पनि शोमा उपस्थिति हुनेछ ।  शोमा पुनमले फेब्रिकलाई मोन्टाइज गरेका १२ वटा डिजाइन प्रदर्शन गर्दैछिन् । प्रदर्शनसँगै पहिरन विक्रीका लागि उनले स्टल पनि राख्नेछिन् । यो फेशन शोमा अन्तर्राष्ट्रिय मोडलसँगै अन्तर्राष्ट्रिय सेलिब्रेटीको पनि विशेष उपस्थिति हुनेछ ।

पेरिसपछि उनी दुबइमा फेशन शो गर्दैछिन् । अन्तर्राष्ट्रिय फेशन शोमा आफ्नो सहभागिता उद्देश्यपरक रहेको उनले बताइन् । ‘भविष्यमा म नेपालमा फेशन कलेज र इनिष्टिच्यूट स्थापना गर्न चाहन्छु । त्यसका लागि विश्वमा फेशनको अवस्था के छ भनेर म अध्ययन गरिरहेकी छु,’ पुनमले खुलाइन्, ‘यूके, जापान, नर्वे, न्यूर्योकलगायतका धेरै देश घुम्दा त्यहाँका जनताहरु नेपालबारे अनविज्ञ छन् । यो अवस्थामा म नेपाली संस्कृतिको फेशनमार्फत नै नेपालको बारेमा चिनाउन चाहन्छु ।’

पुनम आफ्नो संस्था पुनम इन्टरटेनमेन्टले एसएम ग्लोबलसँग सहकार्य गर्दै दुई वर्षपछि नेपालमै अन्तर्राष्ट्रिय वृहत फेशन शोको आयोजना गर्ने तयारीमा छिन् ।

फिल्म ‘अझै पनि’बाट फिल्म निर्माणमा डेब्यु गरेकी पुनम चाँडै नै नयाँ फिल्मको घोषणा समेत गर्ने तयारीमा छिन् ।