पैसा अभावमा फिल्म ‘कस्मिक लभ’ छायांकन रोकियो

फिल्म कस्मिक लभको छायांकन रोकिएको छ । करिब ८०% छायांकन सकिएको र फिल्मको एक गीत समेत सार्वजनिक भैसकेको अवस्थामा फिल्मको छायांकन करिब २ हप्ता अगाडीबाट रोकिएको हो । निर्माताद्वय जे गौतम र सुरज प्रधानको लगानी रहेको फिल्म पैसा अभाव तथा निर्माताहरुको सहकार्यता अभावको कारण रोकिएको खबर छ । फिल्मका निर्देशक बि एस बलामीका अनुसार निर्माता जे गौतम सम्पर्क बाहिर छन् । उनले भने ,’ जे गौतम सम्पर्क बाहिर हुनुहुन्छ । पोखराको गीत सुटिंगको सम्पूर्ण खर्च सुरज दाइले नै गर्नुभयो । खर्च अभाव कै कारण फिल्मको छायांकन रोकिएको छ । दुबैजना मिलेर काम अगाडी बढाए देखी सबैलाई राम्रो हुन्थ्यो ।’

१ करोड ५० लाख लगानीमा दुई प्रोड्युसर रहेर फिल्म निर्माण गरिने घोषणा गरिएको थियो । अहिले सम्म करिब ७० लाख खर्च भएको फिल्म छायांकनको उत्तरार्धमा पुगेको अवस्थामा एक निर्माता सम्पर्क बिहिन छन् भने अर्का निर्माता फिल्म ‘मधहोस’ निर्माण तयारीमा लागेका छन् ।

निर्माता जे गौतमले फिल्म कस्मिक लभ घोषणाको समयमा प्रत्येक तिन महिनामा एउटा फिल्म गर्ने गरि १० वटा फिल्म निर्माण गर्ने अनौपचारिक घोषणा समेत गरेका थिए । जस मध्ये ६ फिल्मको नाम दर्ता भैसकेको छ भने बाकी ४ दर्ताको क्रममा रहेको निर्माता जे गौतमले बताएका थिए ।

फिल्मको निर्देशन बि एस बलामी तथा एस अधिकारीले गरिरहेकाछन् । फिल्ममा प्रसान्त ताम्राकार, रविन तामांग, अर्पण थापा, दिया मास्के लगायतका कलाकारहरुको अभिनय रहेको छ भने फिल्मबाट कलाकार रिजन थापा सँगै पूजन थापाले डेब्यु गर्दैछन । फिल्म मुभी मेकर प्रा लि.को ब्यानरमा निर्माण भैरहेको छ ।