गोपी कृष्ण हलमा ‘रामकहानी’ प्रदर्शन नहुने

भोली शुक्रबार देखी प्रदर्शनमा आउन लागेको फिल्म ‘रामकहानी’ले आफ्नो प्रचारलाई ब्यापक बनाई रहेको छ । अन्तिम सार्वजनिक प्रचार स्वरूप बिहिवार साँझ बानेश्वरमा कन्सर्ट समेत आयोजना गरेका छन् । भोली देखी फिल्म प्रदर्शनमा आउने भए पनि सिंगल थिएटर मध्यको प्रमुख हल गोपी कृष्णमा भने फिल्म नलाग्ने भएको छ । ‘गोपी कृष्ण व्यवस्थापनले सुरुमा ‘कृष्ण’ हल दिने र हाउसफुल भएको अवस्थामा अर्को एक सानो हल समेत दिने कुरा भएको थियो । तर बिहिवार साँझ तिर सानो हलमा मात्र फिल्मको शो दिने कुरा आयो । त्यसैकारण गोपी कृष्ण हलमा फिल्म प्रदर्शन नगर्ने भएका छौँ’ रामकहानी निर्देशक सुदर्शन थापाले भने ।

‘बिहानी शोमा रामकहानी हेर्न आएका दर्शकलाई पनि ‘रोज’ हेर्न आएका दर्शक हुन् भनेर देखाउने र रोज हेर्न लगाउने मनसायले उहाँहरुले यस्तो गर्नु भएको हो । केही छैन हामी त्यहाँ फिल्म चलाउँदैनौँ । बिहानी शोका दर्शकहरुले जानकारी नभएर फिल्म हेर्न जानुहोला म उहाँहरुलाई के अनुरोध गर्न चाहन्छु भने फिल्म गोपी कृष्ण हलमा नचले पनि त्यस नजिकका अन्य हलहरुमा चल्ने छ । ती हलहरुमा गएर फिल्म हेर्न सक्नुहुनेछ’ थापाले भने । हलबाट फिल्मको पोष्टरहरु समेत निकालिएको छ ।

गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्म ‘रोज’ पनि भोली देखी नै प्रदर्शनमा आउँदै छ । गोपी कृष्णले आफ्नै ब्यानरमा बनेको फिल्मलाई प्राथमिकता दिएको रामकहानी निर्देशक थापाले बताएका छन् । पुजा शर्मा र आकाश श्रेष्ठको मुख्य भुमिका रहेको फिल्ममा हाँस्य कलाकारहरुको जम्बो टोलीको समेत अभिनय रहेको छ ।