‘रामकहानी’ दुई दिने कलेक्सन कति ?

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म रामकहानीले सुखद सुरुवात गरेको छ । पुजा शर्मा र आकास श्रेष्ठको मुख्य भुमिका रहेको फिल्ममा राजाराम पौडेल, केदार घिमिरे (माग्ने बुढा), जीतु नेपाल, विल्सन बिक्रम राई, रबिन्द्र झा लगायतका हाँस्य कालाकारहरुको समेत अभिनय रहेको छ । सुदर्शन थापा निर्देशित फिल्मले शुक्रवार र शनिवार गरी ९० लाख आसपासको कलेक्सन गर्न सफल भएको छ ।

वितरक सुनिल मानन्धरका अनुसार प्रदर्शनको दिन शुक्रबार ३० देखि ३५ लाखको कलेक्सन गरेको फिल्मले शनिवार ५५ देखि ६० लाख हारहारीको व्यापार गरेको छ । फिल्मको दुई दिने कलेक्सन रेसियो हेर्ने हो भने आइतवारसम्ममा करोड प्लसको कलेक्सन गर्ने पक्का छ । वर्ड अफ माउथ राम्रो भएकाले आइतवारबाट फिल्मको कलेक्सन अझै बढ्ने देखिन्छ ।

सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा कबिराज गहतराजको कोरियोग्राफी, अर्जुन पोखरेलको शब्द संगीत, महेश दवाडी र दिनेश न्यौपानेको पटकथा सम्बाद, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, सौरव लामाको छायाङ्कन रहेको छ । नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाले संयुक्त रुपमा रामकहानी निर्माण गरेका हुन् ।