स्वस्तिमाको ‘बुलबुल’ भ्यालेन्टाइन डेमा

स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बुलबुल’ छायाङ्कन सकिएको छ । फिल्म साउनको अन्तिम साताबाट फ्लोरमा गएको थियो । निर्देशक बिनोद पौडेलले एउटा गीतको काम बाँकी राखेर फिल्मको काम सकाएको जानकारी दिएका छन् ।

‘आउटडोरमा सेट नै लगाएर खिच्न पर्ने गीत छ । मौसम अझै सफा भइसकेको छैन । त्यही कारणले त्यो गीत दसैंतिहारको बीचमा खिच्ने गरी अहिलेलाई प्याकअप गरेका हौं,’ पौडेलले भने । ‘साँघुरो’का लेखक पौडेलको फिचर फिल्ममा यो डेब्यु निर्देशन हो । फिल्मले टेम्पो चालक महिलाको जीवनीलाई पर्दामा प्रस्तुत गर्नेछ ।

फिल्ममा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । फिल्ममा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पोचालक साथीको भूमिका निर्वाह गरेकी छिन् ।
सुटिङ पूराभएसँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । निर्माता अबिरल थापाले फिल्म फागुन ३ गते भ्यालेन्टाइन डेको अवसरमा रिलिज हुने निर्माण टिमले जानकारी दिएका छन् ।

फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फिल्ममा कोशिश क्षेत्री र उद्गम परियारको संगीतमा रजिना रिमाल र निश्चल बस्नेतको स्वर सुन्न सकिन्छ । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल संयुक्त रुपमा निर्माण गरेका हुन् ।