फिल्म ‘कथा काठमान्डु’ को प्रोमो युटुबबाट हटाउन बोर्डको पत्र

असोज १२ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कथा काठमाण्डु’ को प्रोमो युटुबबाट हटाउन भन्दै चलचित्र बिकाश बोर्डले निर्माण कम्पनीलाई पत्राचार गरेको छ । सूचना तथा संचार मन्त्रालय श्रब्य – दृश्य साखाको बोधार्थ लेखिएको पत्रमा उक्त फिल्मको प्रोमोले सामाजिक मर्यादामा खलल पुर्याउने देखिएकाले प्रोमो हटाउन निर्देशन गरिएको छ । बोर्डको पत्र सँगै प्रदर्शन संघारमा रहेको फिल्म ‘कथा काठमाण्डु’ रिलिज अन्योलमा परेको छ ।
पत्रको व्यहोरा यस प्रकार छ ।
श्री आर. सि. पिक्चर्स प्रा. लि. र आहाना फिल्म प्रोडक्सन प्रा. लि.
इटहरी न. पा. ८, इटहरी, सुनसरी /का. म. न. पा. १०, संखामुल, काठमान्डौ ।
उपरोक्त सम्बन्धमा त्यस प्रा. लि. हरुका तर्फबाट संयुक्त रुपमा निर्माणाधीन डिजिटल प्रविधिको नेपाली भाषाको कथानक चलचित्र ‘कथा काठमान्डू’ को सामाजिक संजाल युटुबमा अश्लिल दृश्य सहित प्रोमोको रुपमा प्रदर्शन भैरहेको सम्बन्धमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारको प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र उक्त चलचित्रको प्रोमो हटाई सोको लिखित जानकारी बोर्ड समक्ष पेश गर्नुहुन समेत जानकारी गराइन्छ । अन्यथा चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०२६ र ऐ ऐ नियमावली, २०५७ (संसोधन सहित) बमोजिम आवश्यक कारवाही हुने व्यहोरा समेत जानकारी गरिन्छ ।
जारी पत्रमा बोर्ड अध्यक्ष निकिता पौडेलको हस्ताक्षर रहेको छ ।