फिल्म छैन, हमाललाई बाल छैन

अभिनेता राजेश हमालको अहिलेको सेड्यूल हेर्दा उनलाई नै कहिलेकाही त दिक्क लाग्छ होला । दैनिक फिल्मको छायांकनमा व्यस्त हुने हमाललाई अहिले फिल्मीकर्मीले पत्याएका छैनन् । हुनत, उनले फिल्म निर्देशन गर्ने भनेको गफ पनि देशमा पानीजहाज आउने गफ जस्तै भएको छ ।

अभिनेता हमाललाई फिल्ममा अफर नगरेपनि उनलाई त्यसले फरक पारेको छैन । किनकी, उनको लोकप्रियता हलमा घटेको होला, बाहिर घटेको छैन ।

राजेश हमाल अहिले पनि महोत्सव, स्टेज कार्यक्रम, विदेशमा आयोजना हुने कार्यक्रममा पुगेका छन् । विभिन्न कुटनीतिक कार्यक्रममा हमालको विकल्प भेटिएको छैन । विभिन्न देशका कार्यक्रममा उनी नै अतिथी बनेर पुगेका छन् ।

हमालको यो क्रेज उनको हातमा फिल्म नहुँदा पनि उस्तै हुनुले स्टारडमको भाषा बोल्छ । फिल्म नभएपछि विदेश पलायन हुने धेरै कलाकार भएको हाम्रो देशमा हमालको यो व्यस्तता डाहा गर्ने खालको नै छ ।