खुस्बुलाई एएफसी ड्रिम अवार्ड

एशियन फुटबल फेडेरेशन (एएफसी)ले पुर्व मोडल तथा सेल्टर नेपालकी अध्यक्ष खुस्बु ओलीलाई एएफसी ड्रिम अवार्ड–२०१८ प्रदान गरेको छ । बुधबार मलेशियाको क्वालालम्पुरमा एएफसीको सामाजिक उत्तरदायित्व अन्तर्गतको सम्मेलनमा खुस्बुलाई एएफसी ड्रिम अवार्ड प्रदान गरिएको राष्ट्रिय खेलकूद परिषदले जनाएको छ ।

सडक बालबालिकाका लागि आश्रय दिँदै आएकी खुस्बुलाई एएफसीको सोसियल रेस्पोन्सिबिलिटी कमिटीका अध्यक्ष अहमद इद एल हर्बीले अवार्ड प्रदान गरेका थिए । खुस्बुलाई अवार्डसँगै १० हजार अमेरिकी डलरसमेत प्रदान गरिएको थियो ।

खुस्बुले युनाइटेड नेसन्स सस्टेनेबल गोलअन्तर्गत रहेर पछिल्लो समय नेपालको पूर्वी क्षेत्रमा पाँच नमूना गाउँ निर्माण गरिसकेकी छन् । अवार्डपछि खुस्बुले गरीब समुदायमा व्यक्तिगत दक्षतामा विकास गरी समग्र गाउँको सशक्तिकरणका लागि आफूलाई थप उत्प्रेरणा मिलेका बताइन् ।