फिल्म चल्ने बेला साम्राज्ञीलाई विदेशको चटारो

‘ए मेरो हजुर २’ चल्ने बेलामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लण्डन जाने चटारोले चड्कायो । उनी हतार हतार संचारमाध्यममा इन्टरभ्यू दिएर लण्डन उड्न चाहेकी थिइन् । लण्डनले सुरुमा नपत्याउँदा उनले भने जस्तो भएन । फिल्म चल्ने बेलामा कलाकार भएनन् भने निर्माताको तनावको राप बढ्छ ।

अहिले पनि साम्राज्ञीले त्यही नियती दोहोर्याएकी छिन् । असोज ५ गते आउन अब धेरै दिन बाँकी छैन । तर, साम्राज्ञी अवार्डका लागि भन्दै जापान उडेकी छिन् । जापानमा आयोजना हुने सूर्य इन्टरनेशनल अवार्डका लागि उनी जापानतर्फ लागेकी छिन् । साम्राज्ञी फर्कदा फिल्म रिलिज हुने दिन थोरै मात्र बाँकी रहन्छ ।

फिल्मको तातो अभिनेता धिरज मगर र निर्देशक रेनशा वान्तवा राइलाई बढी देखिएको छ । साम्राज्ञी यो समयमा विदेश नगएको भए पनि ठूलै प्रलय आउने थिएन । तर, साम्राज्ञीलाई पीक आवरको प्रमोशन भन्दा विदेश यात्रा नै ठिक लाग्यो ।

फिल्म रिलिज हुन लागेको भन्दै निर्देशक दिपाश्री निरौला विदेश गइनन् । साम्राज्ञी जापान नगएर नेपालमै फिल्म प्रचारमा दौडिएको भए रेनशालाई हलुका हुने थियो । तर, साम्राज्ञीको विदेश यात्राले सधैँ उनका निर्मातालाई तनावमा पार्ने गरेको छ ।