चलचित्र दिवस कहिले हो याद नै भएन – बोर्ड अध्यक्ष पौडेल

असोज १ गते सोमबार चलचित्रकर्मीहरुको दिवस ‘चलचित्र दिवस’ परेको थियो । ७ वर्ष अघि देखि चलचित्र विकास बोर्डका तत्कालिन अध्यक्ष गणेश भण्डारीले ‘नेपाली चलचित्रको बदलिँदो चित्र, राष्ट्रियता, मौलिकता र समावेशी चरित्र’ नारा सहित चलचित्र दिवसको सुरुवात गरेका थिए । देशमा हुने अन्य दिवस झै चलचित्र दिवसलाई पनि चलचित्रकर्मीले मनाउँदै आएका थिए ।

हरेक वर्ष विभिन्न कार्यक्रम गरी मनाइदै आएको चलचित्र दिवस यस वर्ष भने मनाइएन । चलचित्र विकास बोर्डले त्यसमा खासै नजर पनि लगाएन । विकास बोर्ड अध्यक्ष निकिता पौडेल नेपाल बाहिर रहेकाले पनि हुन सक्छ, बोर्डले यसमा त्यति ध्यान दिएन । अध्यक्ष पौडेल एक फिल्म अवार्डको लागी जापान पुगेकी छिन् ।
चलचित्र दिवसमा चलचित्रकर्मीलाई सम्मान तथा वर्ष समिक्षा गर्ने गरिन्थ्यो । चलचित्र क्षेत्रको स्तर उन्नतिको लागि विशेष अन्तरक्रिया पनि गर्ने गरिन्थियो । तर यस वर्ष त त्यसमा विकास बोर्डले कुनै चासो दिएको पाइएन ।

दिवस सुरु गर्ने तत्कालिन बोर्ड अध्यक्ष गणेश भण्डारी यस पटक दिवस नमनाउँदा निकै दु:खी छन् । उनी भन्छन, ‘मैले १ हजार जना कलाकर्मीलाई सडकमा र्यालीको लागि निकालेर सुरु गरेको दिवस यस वर्ष बिर्सिएछन । म यस कुराबाट निकै निराश छु ।’ चलचित्र क्षेत्रलाई केहि सहयोग होस भनेर सुरु गरेको यो दिवस विकास बोर्ड अध्यक्षले नै पहल गरेर मनाउनु पर्ने भण्डारीको तर्क छ ।

विकास बोर्ड अध्यक्ष निकिता पौडेल देश बाहिर छिन् । उनले आफु देश बाहिर भएका कारण चलचित्र दिवस याद नभएको बताइन् । उनी भन्छिन्, ‘म अहिले देश बाहिर छु । चलचित्र दिवस कहिले हो याद नै भएन ।’

अहिले विकास बोर्डको कार्यभार बोर्ड सचिवालय, प्रदर्शन तथा वितरण अधिकृत गिरिश शर्माले हेरिरहेका छन् । यस वर्ष चलचित्र दिवसमा कुनै पनि कार्यक्रम नभएको शर्माले बताए । ‘गणेश सर र राजकुमार सरको पालामा मनाइएको थियो । यो वर्ष पनि मनाउनु पर्ने चाहिँ हो’, उनले भने, ‘अध्यक्ष ज्यु बाहिर हुनुहुन्छ त्यहि भएर मनाउन पाइएन ।’ सरकारले पनि यस कुरालाई ध्यान नदिएको उनको भनाई छ ।

यसो भन्छन् कलाकर्मी :
मनाउनु त पर्छ तर हामी चलचित्रकर्मी नै यो दिवस सम्झिदैनौं र महत्व दिदैनैं यसमा हाम्रो पनि गल्ती छ ।

चलचित्र दिवस मनाउनु पर्ने त हो । तर किन हो यस वर्ष मनाइएन । हाम्रो दिवस हराउँदा नराम्रो लागेको छ । यस कुरामा विकास बोर्ड अध्यक्षले ध्यान दिनुपर्छ ।

चलचित्र दिवस मनाउनु पर्छ जस्तो लाग्दैन मलाई । नेपालमा हुने हरेक चलचित्र सम्बन्धी कार्यक्रमहरु उदेक लाग्दो छन् । नेपाली चलचित्रको हितका लागी कोहि कसैले काम गरेको छैन । अहिले हामीले आफ्नो लागि मात्र काम गरिरहेका छौ । बुवालाई बृद्ध आश्रममा रहेर फादर्स डे मनाएको जस्तो एक दिन चलचित्र दिवस मनाएर केहि फाइदा छैन् । बरु सेमिनार र गोष्टि गरेर फिल्म क्षेत्रलाई माथि लाने काम गर्न जरुरी छ ।

मैले चलचित्र दिवस छ भन्ने थाहा पाएको थिए । अनि कहिँ केहि कार्यक्रम छ की भनेर हेरे पनि । तर कहिँ केहि कार्यक्रम रहेनछ । विकास बोर्डको पनि कार्यक्रम नहुँदा छक्क परे । यो दिवस त हामी सबैले मनाउनु पर्ने हो । कमी-कमजोरीमा छालफल हुनुपर्ने । जसले हामीलाई फाइदा नै हुने थियो ।

अरुलाई देखाउन मात्र दिवस नमनाएको राम्रो हो । यदि केहि उद्धेश्य सहित मनाउने हो भने चाहिँ राम्रो नै हुन्छ ।

यसो भन्छन् चलचित्र पत्रकार:
असोज १ को चलचित्र दिवस किन मनाइएन ? यसलाई दुईटा कोणवाट बुझ्न सकिन्छ । पहिलो कानुनी र दोस्रो ब्यवहारिक । बोर्डका निर्णयहरु आफैंमा निति बराबर हुन् । विकास बोर्डले चलचित्र दिवस मनाउने भनेर निर्णय गरेको छ भने त्यो नितिगत कुरा भयो । यसरी निर्णय भएका कुरा पालना नभएको हो भने त्यो नितिगत निर्णयको उलंघन नै हो । ब्यवहारिक रुपमा मात्र निर्णय भएको हो भने यस पटक विकास बोर्ड नेतृत्वले भ्याएन होला, आवस्यक ठानेन होला त्यसैले मनाएन । यो सामान्य कुरा भयो । तर क्यालेन्डरमा नै प्रकाशित भइसकेको विषयलाई हेलचेक्राईँ गर्नुको मतलव बोर्ड नेतृत्व चलचित्र क्षेत्र प्रति गम्भीर छैन भनेर पनि बुझ्न सकिन्छ । मुलुकमा धेरै दिवसहरु मज्जासँग मनाइन्छन् । हामी चलचित्र पत्रकारिता दिवस लामो समयदेखि जेठ ७ मा मनाउँदै आएका छौं । तर, सम्पूर्ण नेपालीहरुलाई आकर्षित गर्न सफल चलचित्र क्षेत्रको दिवस भने बेबारिसे हुनु आफैंमा दुखद पक्ष हो । जिज्ञासा लाग्छ, के चलचित्र क्षेत्रको नेतृत्व गरेर बसेका ब्यक्तिलाई यस यथार्थले पोल्दैन ?

नेपाली फिल्मको ब्रान्डिङका लागि चलचित्र दिवस मनाउँदा फाइदा नै हुन्थ्यो । कर्पोरेट हाउस, स्कुल कलेज, विभिन्न संघसंस्थालाई समेत सहभागी गराई साताव्यापी कार्यक्रम नै बनाएर मनाउन सकिन्थ्यो । त्यसो गर्दा नेपाली फिल्मप्रति लगानीकर्ता र नयाँ प्रतिभाहरुको रुचि बढ्थ्यो । विकास बोर्डले दुई वर्षको नेसनल अवार्ड पनि छिटो प्रदान गर्दा हुन्थ्यो । चलचित्र विकास बोर्डको वार्षिकोत्सब भन्दा चलचित्र दिवसमा अवार्ड दिँदा राम्रो हुन्थ्यो ।

दिवस भनेर कर्मकाण्ड गर्ने कुरामा त मेरो समर्थन छैन । क्रियटिभ भएर मनाउने हो भने राम्रै हो । विकास बोर्डले यस दिवसलाई फिल्म क्षेत्रको प्रचार गर्ने अवसरका रुपमा लिनुपर्छ ।

मनाउनु पर्थ्यो ! कि त घोषणा गर्न हुन्न थियो, गरे पछाडि हरेक बर्ष पहल गर्ने काम बोर्डको हो । समस्त नेपाली चलचित्रकर्मीहरुको दिवस भनेर घोषणा हुँदा गरिएको र्याली तथा कार्यक्रममा अरु पनि चलचित्र संघ संस्थाका पदाधिकारी लगायत सहभागी थिए यो बर्ष त सबैले बिर्सिए । कतै कसैले एक अर्कालाई शुभकामना दिएको पनि पाइएन । बोर्ड अध्यक्ष बाहिर हुनु भएको खण्डमा अरु कर्मचारी तथा सदस्यहरु ले पहल गर्नु पर्थ्यो होला, गरिएन । सबैलाई हाम्रो पात्रो एप्स ले बिहानै सम्झाई त दिएकै थियो क्यार ! र पनि कसैले वास्ता नै गरेनन् । सायद नेपाली चलचित्र दिवस मनाउनु पर्छ भन्ने जरुरी कसैलाई लागेन ।

जून उद्देश्यका साथ दिवस घोषणा गरिएको थियो, त्यसको औचित्य नसकिएको हो भने चलचित्र दिवस मनाउनु पर्ने हो जस्तो लाग्छ । औचित्य सकिएको भएपनि चलचित्र विकास बोर्डले अवगत गराउनु पर्ने हो । नत्र फिल्म क्षेत्र जिवित नै छ, बोर्ड संचालन मै छ । यस्तोमा क्यालेन्डरमा सूचिकृत भईसकेको चलचित्र दिवस नमनाउनु वा सम्बन्धित निकायले नै बिर्सिदिनु बिडम्बना हो । – सुशील पौडेल