अनाथ सृस्‍टि र बेबारिसे आर्यनको प्रेम कहानी ‘बाँध मायाले’

असोज ५ गते शुक्रवार देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बाँध मायाले’ले यतिबेला आफ्नो प्रचार प्रसारलाई अन्तिम चरणमा पुर्याएको छ । फिल्म प्रचारका नयाँ नयाँँ शैली अपनाएको निर्माण यूनिट केही हदसम्म आफ्नो फिल्मसँगै प्रदर्शनमा आउन लागेका अन्य दुई फिल्म ‘इन्टु मिन्टु लन्डन’मा र ‘धुम ३’को प्रेसरमा पनि छ ।

अस्ट्रेलिया र अमेरिकामा प्रिमियर शो सम्पन्न गरिसकेको यो फिल्मले त्यहाँका नेपाली दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । विदेश प्रदर्शनको बारेमा बोल्दै निर्देशक सबिर श्रेष्ठ भन्छन ‘एकदमै राम्रो रेस्पोन्स आएको छ । दुबै ठाउँबाट राम्रो रेस्पोन्स पाएका छौँ । दर्शकहरुको रियाक्सन देखेर हामी निकै उत्साहित छौँ । उहाँहरुले फिल्मलाई निकै एप्रिसिएट गर्नुभएको छ ।’

त्यस्तै उक्त प्रिमियर शोमा पुगेका फिल्मका नायक आर्यन अधिकारी भन्छन्, ‘फिल्म हलमा ताली बज्दा निकै आनन्द आएको थियो । जति जनाले फिल्म हेर्नुभएको थियो विशेष गरि महिलाहरु बाहिर निस्कदा सबैको आँखा रसाएको मैले देखेँ । सबैले राम्रो फिल्म बनाउनुभएको रहेछ, राम्रो काम गर्नुभएको रहेछ भन्ने प्रतिक्रिया दिनुभएको थियो । सबैले मलाई सृस्टि, राजाराम दाईलाई सबैले मन पराउँनुभयो । हाम्रो डेब्यू एक्टर किशोर खड्कालाई पनि सबैले एप्रिसिएट गर्नुभएको थियो । त्यसैले ओभरअल रेस्पोन्सदेखि निकै आशावादी छु नेपालमा पनि फिल्मले राम्रो सफलता प्राप्त गर्छ भन्नेमा ।’

विदेशका दुई शोबाट राम्रो प्रतिक्रिया पाएको फिल्म बाँध मायालेलाई प्रेसर भने पक्कै छ । धुम ३ भन्दा पनि इन्टु मिन्टु लन्डनमा फिल्मबाट उनीहरुलाई बढी प्रेसर छ । फिल्मकी नायिका सृस्टि श्रेष्ठ भन्छिन्, ‘खासमा भन्नुपर्दा ईन्टु मिन्टू लण्डनमा फिल्ममा मेरो साथी शारुक पनि छ । म खुशी छु किनभने उसले राम्रो काम गरेको छ । ईन्टु मिन्टु लण्डनमाको ट्रेलर पनि राम्रो छ, म खुशी नै छु । म सबै फिल्महरुलाई सपोर्ट गर्छु । यो होइन की मैले अभिनय गरेको फिल्म मात्र चल्नु पर्छ । सबैको फिल्म चलोस् ।’

निर्देशक सबिर श्रेष्ठ भने बाँध मायालेलाई मात्र फरक नपर्ने बताउँछन् । ‘ एउटाभन्दा बढि फिल्म एक साथ प्रदर्शनमा आयो भने धेरै फरक पर्छ जस्तो बिजनेसको हिसाबले, हलहरुको हिसाबले । कसको बिजनेस बढि हुने कसको कम हुने पछिको कुरा हो । तर फिल्म एकै पटक रिलिज हुँदा सबै फिल्महरुलाई असर पर्छ जस्तो लाग्छ । त्यो प्रेसर त बाँध मायालेलाई पनि छ, अरुलाई पनि हुन्छ होला ।’ श्रेष्ठले भने ।

नायक आर्यन अधिकारीको मत पनि निर्देशक श्रेष्ठको भन्दा फरक छैन । ‘त्यो प्रेसर हामीलाई मात्र नभएर सबैलाई हुन्छ । हप्तामा एउटा फिल्म मात्र आउँदा राम्रो हो तर हाम्रो नेपालमा फिल्म धेरै बन्छ । हप्तामा एउटा फिल्म रिलिज गरेर पुग्दैन पनि होला । त्यसले हामीलाई के पनि च्यालेन्ज गर्छ भने हामिले प्रोडक्ट राम्रो बनाउनुपर्छ, कम्पिटिसन छ । त्यसैले यसको राम्रो पक्ष भनेको कम्पिटिसनका कारण पछिल्लो दिनहरुमा मेकर्सहरुले मेहनत गरेर राम्रो फिल्म बनाउने छन् ‘ उनी भन्छन् ।

बाँध मायालेलाई अन्य फिल्मसँग जुध्नुको मात्र होइन फिल्म चल्नै पर्छ भन्ने अर्को प्रेसर पनि छ । आर्यन र सृस्टिले ‘हिट’को स्वाद चाख्न पाएका छैनन् । यसअघिका फिल्मको प्रतिक्रिया राम्रो भए पनि व्यापारिक रुपमा सफल हुन सकेका छैनन् । त्यसैकारण उनीहरुलाई पनि यो फिल्म चल्नै पर्ने प्रेसर छ । ‘कमरसियल्ली सक्सेस भयो भने सबैलाई फाईदा हुन्छ’ नायिका श्रेष्ठको भनाई छ । नायक अधिकारी भन्छन्, ‘प्रेसर त हरेक पटक हुन्छ । त्यसलाई म प्रेसरको रुपमा लिन्न । जसरी हामीले काम गरेका हुन्छौँ, पक्कै पनि फिल्म चल्छ भन्ने सोच्छौँ । म त झन् नयाँ नयाँ पनि छु । भर्खर तेस्रो फिल्म रिलिज हुँदैछ । यो फिल्मको अस्ट्रेलिया र अमेरिका प्रिमियरमा मैले अडियन्सको फिडब्याक अलरेडी पाईसकेको छु । त्यसैले म निकै खुशी छु र ढुक्क पनि ।’

‘फिल्म त हामीले चल्नै पर्छ भनेर नै बनाउने हो । अब पैसाको मात्र पनि कुरा हुँदैन बढिभन्दा बढि दर्शकहरुले हेरुन भन्ने चाहना हो । फिल्म चलेको, सफल भएको त कसलाई मन पर्दैन र ? प्रेसर भन्दा पनि फिल्म चलोस भन्ने हाम्रो चाहना हो । अहिलेसम्म दर्शकले दिनुभएको फिडब्याकलाई हेर्दा हामी धेरै एक्साईटेड छौँ’ निर्देशक श्रेष्ठले भने । ‘फिल्ममा त्यति धेरै हाईफाई केही पनि छैन । फिल्म तपाई हामीले भोगेको र देखिरहेकै कथामा नै बनेको छ । अझ भन्दा अनाथ सृस्टि र बेबारिसे आर्यनको प्रेम कहानी हो ‘बाँध मायाले’ । यसको लोकेसन वाईज, गीत संगीत, क्यारेक्टर वाईज धेरै कुरा फरक छ । हरेक फिल्ममा मैले सकेको केहि न केहि फरक दिन खोजिरहेको हुन्छु । कति सफल भए कति असफल भएँ त्यो आफ्नो ठाउँमा छ । तर दर्शकलाई चिट गरेको छैन’ उनले भने ।

यस फिल्ममा नायिका सृस्टि श्रेष्ठ अनाथ आश्रममा हुर्केकी युवतीको भुमिकामा देखिएकी छन् भने आर्यन साधारण केटाको भुमिकामा देखिएका छन् जसको कुनै भविष्यको प्लान हुँदैन । ‘बाँध मायाले एक्सन, कमेडी, लभले भरिपुर्ण छ र अन्य फिल्महरुमा भन्दा फरक भूमिकामा अभिनय गरेका कारण पनि दर्शकले मलाई र फिल्म बाँध मायालेलाई रुचाउनु हुनेछ’ आर्यनले भने ।

रामहरी धिताल र विभेषिका श्रेष्ठको निर्माण रहेको फिल्म ‘बाँध मायाले’ मा महेन्द्र अधिकारी र केदार धितालको सह-निर्माण रहेको छ । काईट्स ईन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, विशाल चाम्लिङ, रविन होड सेन, किशोर खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेलको संगीत, बाबु श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । लभ स्टोरी फिल्मलाई सविर श्रेष्ठले लेखन, निर्माण तथा निर्देशन गरेका हुन ।
भिडियो हेर्नुहोस् :