कालिका म्युजिक अवार्ड मनोनयन सम्पन्न

कालिका मिडियाले विगत १४ वर्ष अघिदेखि प्रदान गर्दै आईरहेको कालिका म्युजिक अवार्डको मनोनयन मंगलबार सार्वजनिक गरेको छ । आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा आगामी असोज २६ गते कालिका मिडियाले प्रदान गर्न लागेको १४ औं कालिका म्युजिक अवार्डको मनोनयन राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।

एक बर्ष भित्र सार्वजनिक भएका नेपाली गित, संगित, रचना र म्युजिक भिडियोको विभिन्न समुह बनाई जम्मा ३० विधामा उत्कृष्ट ५ –५ जनाको मनोनयन सार्वजानिक गरेको हो । यस्तै लामो समय देखि गित रचनामा उल्लेखनिय योगदान पुर्याउदै आउनु भएका वरिष्ठ रचनाकार किरण खरेललाई यसवर्षको कालिका लाइफ टाइम एचिभमेन्ट अवार्डवाट सम्मान गरिने भएको छ ।

वर्षभरि सर्वाधिक सफलता प्राप्त गर्न सफल गित, संगित र रचनाहरुलाई यसै क्षेत्रमा कार्यरत विज्ञहरुको सल्लाहमा छनोट गरिएको र आम सर्वसाधारणको मतको आधारमा उत्कृष्ट १ –१ जनालाई यो अवार्ड प्रदान गरिने छ । सार्वजानिक गरिएका सम्पुर्ण विधाको लागि एसएमएस समेत खुल्ला गरिएको छ । गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा सार्वजनिक भएको नोमिनेसन सार्वजानिक कार्यक्रममा देशका चर्चित श्रष्टाहरुको समेत सहभागीता रहेको थियो ।

आधुनिक तर्फ उत्कृष्ट पुरुष गायक, गायिका, संगित संयोजन, शब्द गरि ४ विधा रहेका छन् । यस्तै नेपाली फिल्मतर्फ उत्कृष्ट नेपाली फिल्म गायक, गायिका, संगित संयोजन, शब्द रहेका छन् । यस्तै राष्ट्रिय नेपाली पप तर्फ उत्कृष्ट स्वर प्रस्तुतकर्ता पुरुष, महिला, उत्कृष्ट पप संगित संयोजन, शब्द र ब्याण्डलाई अवार्ड प्रदान गरिने छ । लोक दाहोरीतर्फ उत्कृष्ट राष्ट्रिय लोक दोहोरी गायक, गायिका, लोक दोहोरी धुन, शब्द र स्थानिय लोक दोहोरी कलाकार र मध्य नेपाल उत्कृष्ट गायकलाई अवार्ड प्रदान गरिने छ ।

यी विधाका साथै सर्वोत्कृष्ट संगित संयोजक, गित, वर्षको उत्कृष्ट नव प्रवेशी गित, युगल गित, स्वदेश गान , गजल र वर्षको सर्वोत्कृष्ट गित साथै म्युजिक भिडियो तर्फ उत्कृष्ट भिडियो सम्पादक, उत्कृष्ट भिडियो , छायांङकन, भिडियो नायक र नायिका विद्याको मनोनयन सार्वजनिक गरिएको हो । मनोनयन सार्वजानिक कार्यक्रममा बौल्दै कालिका मिडियाका अध्यक्ष  तथा  प्रबन्धक निर्देशक  विक्रम पाण्डेले कलाकार देशको गहना र गीत संगित राष्ट्रको पहिचान भएकाले १४ वर्ष देखि निरन्तर रुपमा मोफसलबाट राष्ट्रिय स्तरको अवार्ड प्रदान गरिदै आएको जानकारी दिए ।

कार्यक्रममा पुर्वमन्त्री पाण्डेले गित संगीतको विकासकै लागी कालिका साङगीतिक एफ एम ९१ मेघाहर्ज स्थापना गरीएको जनाउँदै कलाकारको हौसला प्रदान गरि कलाकर्मी तथा सर्जकहरुको योगदानलाई सम्मान गर्दै म्युजिक अवार्डलाई अझै परिमार्जीत गरेर लैजाने प्रतिवद्धता जनाए । कालिका मिडियाको १६ औँ वार्षिकउत्सवको अवसरमा कालिका म्युजिक अवार्डको १४औँ संस्करण असोज २६ गते नारायणी कला मन्दिरमा सम्पन्न गरिने छ ।