अस्कर अवार्ड नोमिनेसनमा नेपाली फिल्म ‘पंचायत’

अस्कर अवार्डका लागि नेपाली फिल्म ‘पंचायत’ छानिएको छ । एकेडेमी अफ मोशन पिक्चर आर्ट एण्ड साइन्सेस्द्वारा सन् २०१९ मा घोषणा गरिने ९१औं द अस्कर अवार्डमा विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र विधामा प्रतिस्पर्धी बन्नका लागि नेपालबाट सहभागिता आह्वान गरिएकोमा तान्द्रो, पञ्चायत  तथा माइ लभ प्रोमिश फर काठमाडौं दर्ता भएका थिए । एकेडेमीका सबै मापदण्ड पुगेको कारण विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति नेपालले फिल्म पंचायत छनोट गरेको बताएको छ ।

छनौट समितिमा संयोजक बिमल पौडेल, सदस्यहरूः प्रदीपकुमार उपाध्याय, लक्ष्मीनाथ शर्मा, राजेन्द्र शलभ, सामीप्यराज तीमल्सेना, लोकेन्द्र पराजुली (कपील), चिरञ्जीवी गुरागाइ रहेका थिए ।

लेखन तथा निर्देशन शिवम अधिकारीको रहेको ‘पन्चायत’ लाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा सरोज खनाल, नीता ढुङगाना, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।