भूपेन्द्रजङ शाहीको ‘परदेशी’ सार्वजनिक

राजधानीको लाजिम्पाट स्थित सम्पदा गार्डेन होटेलमा एक कार्यक्रमको आयोजना गरि भूपेन्द्रजङ शाहीको शब्द रचना रहेको ‘परदेशी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा टीका प्रसाईको स्वर रहेको छ । रेखा पौडेलको सब्नीत रहेको गीतको संगीत संयोजन कमल सौरागले गरेका छन् । राजिब गुरुङ निर्देशित भिडियोमा नम्रता सापकोटा र विवेक ठकुरी फिचर्ड छन् ।

गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाको प्रमुख आथित्यतामा सम्पन्न गीत बिमोचन कार्यक्रममा संगीतकार तथा रोयल्टी समाजका महासचिव महेश खड्काले शुभकामना व्यक्तगर्दै सरकारसँग गरिएको सम्झौतालाई अक्षरस पालना गर्नुको कुनै बिकल्प नभएको दावी गरेका छन् । उनले भने,”हामीले कलाकारको हक हितको लागि सरकारसँग गरिएको सम्झौता अनुसार व्यबहार भएको छैन, यातायातको कुरा गर्दा जस्ले गीत बजाउन चाहन्छ त्यो बाहेकले रोयल्टी तिर्न नपर्ने अधिकार दिएको छ, यो कसरी जायज हुन्छ, गीत बजाएको नबजाएको कसरी थाह हुन्छ ? ५ सय बढी रेडियोहरुसङ्ग सम्झौता गरिएको छ ।” उनले अघि थपे,”भुपेन्द्रजि यो देशको सम्भावना बोकेको युवा नेता हुनुहुन्छ हाम्रो हार्मोनियम बोकेर सडकमा आउन सक्दैनौं, अब आन्दोलनको अर्थ पनि छैन तर तपाईंले हाम्रो मर्कालाई राज्यलाई सुनाउन सक्नुहोस।”

गीतकार भूपेन्द्रजंग शाहीले राजनीति र साहित्यलाई एकसाथ अघि बढाउने बताएका छन । महासचिव शाहीले संगीतका महेश खड्काले उठाएका मागहरूका बारेमा आफुहरु निरन्तर साथ दिनेमा जोड दिएका छन् । उनले भने,”म राजनीति मात्रै सिमित हुन सक्दिन, यो गीत १० वर्षपछि रेकर्ड अनि दृश्यमा देखाउन सकेका हौ, जुन काममा संगीतकार, निर्देशन, अभिनय गर्ने कलाकार सबैको देन छ, सुरुमा म सब राजनीति हो सोच्थे तर यो गीतको भिडियो छायांकनमा जीवनमा पहिलो पटक आफै उपस्थिति हुदा नया अनुभव गरे, तयार पारिएको गीत हेर्दा यो सामान्य हो जस्तो लाग्थ्यो तर एउटा गीत तयार पार्न ठूलो भुमिका रहने रहेछ ।”

महासचिव शाही १० वर्ष पहिले लेखेको परदेशी बोलको गीतमा रोजगारको खोजीमा बिदेश गएका नेपालीहरूको पीडा बेदना, घरपरिवारको परिस्थिति, दुख बेदना समावेश गरिएको छ । कार्यक्रममा विपि अध्ययन प्रतिष्ठान नेपालका अध्यक्ष धर्मेन्द्र विक्रम नेम्वाङ, संगीतकार राजेश थापा, महिला नेत्री बिनिता अधिकारी, समाज सेवी दीपा ऐर लगायतको उपस्थिती रहेको थियो ।